काठमाडौं– अटो व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । थापा १४ सय १३ मत ल्याई अध्यक्ष निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । उनले पाएको मत प्रतिद्वन्द्वी करण चौधरीको भन्दा ६६ ले बढी हो ।
थापा नेपालका लागि फोर्स मोटरको अधिकृत विक्रेता हुन् । चौधरी गु्रप अन्तर्गतको सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले १३ सय ४७ मत पाएका छन् । कार्यसमिति सदस्यमा भने चौधरी प्यानलका धेरै सदस्य निर्वाचित भएको नाडाले जनाएको छ ।
निर्वाचन समितिले दिएको जनाकारी अनुसार नाडा कार्यसमिति १७ सदस्यमध्ये चौधरी पक्षबाट १२ र थापा पक्षबाट ५ जना निर्वाचित भएका छन् ।
चौधरी प्यानलबाट मिलनबाबु मल्ल, अनुपकुमार बराल, राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योति, प्रकाश कपुरी, विक्रम सिंघानिया र गोपाल भट्टराई निर्वाचित भएका छन् ।
चौधरी प्यानलकै निलमणि पाठक, वरदान बस्नेत र पंकज अग्रवाल पनि कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।
थापा प्यानलबाट निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदिपमान प्रधान र आकाश गोल्छा निर्वाचित भए । निर्वाचनमा २७ सय ८८ मत खसेको थियो ।









