चितवन– निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउन्डेसन पछि हटेको छ । फाउन्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो ।

आर्थिक संकलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो ।

फाउन्डेसनले संस्थागत निर्णय गरी कोभिड–१९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भए अनुसार स्वामित्व लिन अनुरोध गरेको छ ।

फाउन्डेसनले महानगरलाई लेखेको पत्रमा भनिएको छ, ‘फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड–१९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रंगशाला निर्माण कार्य कठिनाई भएको छ ।’

सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ । सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउन्डेसनले कोभिड–१९ का कारण निर्माण सम्पन्न गर्न कठिन भएको भन्दै स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरेको बताइन् ।

यस लगत्तै महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताइन् । यस सम्बन्धमा युवा तथा खेलकूदमन्त्री महेश्वरजंग गहतराजसँग परामर्श गरी काम अघि बढाइएको दाहालले बताइन् ।

महानगरले फाउन्डेसनलाई काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउन्डेसन पछि हटेको हो ।

उनका अनुसार फाउन्डेसनले महानगरमा पेस गरेको विवरण सरकारी तवरबाट जाँचबुझ गरी मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पठाएर तिर्नुपर्ने भुक्तानी तिर्नका लागि प्रक्रिया अघि बढाइँदै छ । बाँकी कामका लागि बहुवर्षीय योजना अन्तर्गत बोलपत्र आह्वान गरी काम अघि बढाउन महानगरले संघीय सरकारलाई अनुरोध गरेको दाहालले जानकारी दिइन् ।

उनले भने, ‘मन्त्रिपरिषद्ले जे निर्णय गर्छ सोही अनुसार काम गर्न हामी तयार छौं ।’ भरतपुर महानगरपालिकाको महत्त्वपूर्ण आयोजना भएकाले यसलाई निरन्तरता दिएर सम्पन्न गर्न आफू लागि परेको दाहालको भनाइ छ ।

महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समन्वय गरेर सो जग्गा रंगशालाका लागि उपलब्ध गराएको हो । फाउन्डेसनले नेतृत्व गरेको भए पनि अधिकांश आर्थिक सहयोग जुटाउन महानगरपालिकाको प्रत्यक्ष भूमिका रहेको छ ।

उनले थपिन्, ‘रंगशाला सम्पन्न हुन्छ ।’ फाउन्डेसनले १७ करोडभन्दा बढी ऋण तिर्न बाँकी रहेको महानगरलाई अनुरोध गरेको पत्रमा उल्लेख छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले कार्यपालिकाको बैठकले निर्णय गरी फाउन्डेसनले पेस गरेको विवरणको आर्थिक र प्राविधिक पक्षको अध्ययनका लागि सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरमा पठाएको छ ।

त्यसैगरी, नेपाल चार्टर एकाउन्टेन्ट संस्थामा आर्थिक अध्ययनका लागि पठाइँदै छ । दुवै निकायबाट जाँचबुझपछि खेलकूद मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकमा पठाउने तयारी गरिएको हो ।

सुवेदीले नेपाल सरकारको नीतिनियम अनुसार आवश्यक प्रक्रिया पुर्याएर रंगशाला निर्माणको कामलाई पूर्णता दिने बताए ।

आर्थिक अभावका कारण विगत पाँच महिनादेखि रंगशाला निर्माणको काम हुनसकेको छैन । उधारो आर्थिक व्यायभार बढ्दै गएको र आर्थिक संकलन हुन नसकेको भन्दै काम रोकिएको हो ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले चरम आर्थिक संकटबाट गुज्रिएपछि काम रोक्नुपरेको बताउँदै आएका थिए । उनले जनस्तरबाट रकम उठ्ने सम्भावना पनि नभएको र सरकारले नदिएका कारण आर्थिक संकट आएको बताए ।

रंगशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउन्डेसनले दाबी गरेको छ । रंगशालामा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार खर्च भइसकेको यसअघि नै फाउन्डेसनले दाबी गरेको थियो ।

रंगशाला सम्पन्न गर्न तीन अर्ब हाराहारी खर्च हुने अनुमान गरिएको छ । रंगशालाको २०७५ माघ १६ गते काठमाडौंमा तत्कालीन प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भरतपुर महानगरसँग विशेष सम्झौता भई काम अघि बढाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय