काठमाडौं– स्वामित्वमा किनबेचमा पुँजीगत लाभकर छलेको कोकाकोला उत्पादक बोटलर्स नेपाल लिमिटेड पाँच अर्ब रुपैयाँ कर तिर्न तयार भएको छ ।
कम्पनीले पाँच अर्ब कर तिर्न तयार रहेको जनाउँदै उसका सञ्चालकविरुद्ध मुद्दा नचलाउन दबाब दिन काठमाडौंस्थित अमेरिकी राजदूतावास गुहारेको स्रोतको भनाइ छ । दूतावास कै आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोटलर्स नेपालका विदेशी सञ्चालकविरुद्ध मुद्दा नचलाउन राजस्व अनुसन्धान विभागलाई आग्रह गरेका छन् ।
विभागले कर छलीमा संलग्न बोटलर्स नेपालका विदेशी सञ्चालकहरुलाई सात दिनभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेपछि लामो समयदेखि अटेरी गरेर बसेको कम्पनी कर तिर्न राजी भएको हो ।
राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार बोटलर्सले पाँच अर्ब कर तिर्ने जानकारी दिँदै उनीहरुविरुद्ध मुद्दा दायर नगर्न आग्रह गरेको छ ।
मुद्दा दायर भएको खण्डमा अन्तर्राष्ट्रिय स्तरमै बदनाम हुने भएपछि काठमाडौंस्थित अमेरिकी राजदूतावासले समेत बोटलर्स नेपालविरुद्ध मुद्दा नचलाउन प्रधानमन्त्री गुहारेको हो । कोकाकोला अमेरिकी कम्पनी हो । अमेरिकी दूतावासको आग्रहपछि प्रधानमन्त्री देउवाले विभागलाई मुद्दा नचलाउन आग्रह गरेको पनि स्रोतको दाबी छ ।
विभागले यही पुस २ गते द राइजिङ नेपालमा सूचना जारी गर्दै बोटलर्स नेपालका तत्कालीन र वर्तमान सञ्चालक समितिका सदस्य, तत्कालीन प्रबन्ध सञ्चालक, वित्त व्यवस्थापक सहित १५ जनालाई सात दिनभित्र विभागमा उपस्थित हुन भनेको थियो ।
बयानका लागि बारम्बार पत्राचार र सम्पर्क गर्दा पनि नआएपछि विभागले पत्रिकामा सूचना निकालेको थियो ।
विभागले उनीहरु सात दिनभित्र विभागमा उपस्थित नभए राजस्व छलीविरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको थियो ।
विभागको अनुसन्धानले उक्त कम्पनीको स्वामित्व खरिदबिक्री हुँदा पाँच अर्ब रुपैयाँ राजस्व छलेको देखाएको छ ।









