काठमाडौं– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३.५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको ५ महिनामा ५ खर्ब ७५ अर्ब रहेको मुलुुकको वैदेशिक व्यापार चालु आवको सोही अवधिमा ९ खर्ब ४१ अर्ब पुगेको छ ।

भन्सार विभागले जारी गरेको पछिल्लो तथ्यांक अनुसार गत आवका तुलनामा आयात ५९.५५ प्रतिशतले बढेको छ । गत आवको पहिलो ५ महिनामा ५ खर्ब २५ अर्ब मूल्य बराबरको आयात भएकामा चालु आवको मंसिर मसान्तसम्म आठ खर्ब ३८ अर्ब पुगेको छ । त्यस्तै गत आवको पहिलो ५ महिनाका तुलनामा चालु आवको निर्यात १०५.६१ प्रतिशतले बढेको छ । गत आवको मंसिर मसान्तसम्म ५० अर्ब ५ करोड बराबरको निर्यात भएकामा यस आवको उक्त अवधिमा १ खर्ब २ अर्ब बराबरकोे निर्यात भएको छ ।

विभागका अनुसार यो आर्थिक वर्षको पहिलो ५ महिनासम्मको अवधिमा वैदेशिक व्यापारमा वृद्धि भए तापनि मुलुकको व्यापार घाटा भने अघिल्लो आवको तुलनामा ५४.७ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब पुगेको छ । गत आवको पहिलो ५ महिनामा व्यापार घाटा ४ खर्ब ७५ अर्ब थियो ।

मुलुकको कुल वैदेशिक व्यापारमा गत आवको पहिलो ५ महिनासम्म आयातको हिस्सा ९१.३ प्रतिशत रहेकामा यस्तो हिस्सा २.४५ प्रतिशत बिन्दुले घटेर ८९.०७ प्रतिशतमा आएको छ ।

त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २५.७२ प्रतिशतले बढेर १०.९३ प्रतिशत पुगेको छ । यस्तो हिस्सा अघिल्लो आवको पहिलो ५ महिनामा ८.७ प्रतिशत थियो ।

चालु आवको पहिलो ५ महिनामा मुलुकको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको विभागले जनाएको छ । गत मंसिर महिनासम्म ४९ अर्ब २ करोड बराबरको डिजेल आयात भएको देखिन्छ ।

त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रामा छ । नेपालमा व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनःनिर्यात गर्दै आएका छन् । चालु आवको पहिलो ५ महिनामा ३३ अर्ब ६६ करोड मूल्य बराबरको भटमासको तेल आयात भएकोे देखिन्छ । त्यस्तै पाम आयल २४ अर्ब ६१ करोड, पेट्रोल २४ अर्ब १० करोड र एलपी ग्यास २३ अर्ब ११ करोड तथा टेलिफोन २० अर्ब ३५ करोडको आयात भएको विभागले जनाएको छ ।

त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार स्वदेशबाट ३० अर्ब ५५ करोड बराबरको भटमासको तेल निर्यात भएको छ ।

व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलले योगदान गरेको देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेत जस्तै पाम तेल पनि कच्चापदार्थ आयात गरी प्रशोधनपछि निर्यात हुने गरेको छ । सार्वजनिक विवरण अनुसार यस आवको पहिलो ५ महिनासम्म २७ अर्ब ४२ करोड मूल्य बराबरको पाम तेल निर्यात भएको छ ।

त्यस्तै ३ अर्ब ७३ करोड बराबरकोे गलैँचा तथा २ अर्ब ६५ करोड मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्यांक छ । यो आवको पहिलो ५ महिनामा नेपालले भारतबाट करिब ५ खर्ब ३ करोड मूल्य बराबरका वस्तु आयात गरेको देखिन्छ भने ८४ अर्ब १५ करोड मूल्य बराबरको वस्तु निर्यात गरेको छ ।

सोअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै ४ खर्ब १५ अर्बभन्दा धेरै रहेको देखिन्छ । त्यस्तै नेपालले चीनबाट १ खर्ब २२ अर्ब मूल्य बराबरका वस्तु आयात गरेकामा ३८ करोड १६ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको देखिन्छ ।

विभागका सबैभन्दा धेरै वीरगन्ज नाकाबाट २ खर्ब ९० अर्बभन्दा बढी मूल्य बराबरको आयात भएको छ । त्यस्तै भैरहवा नाकाबाट १ खर्ब ३६ र त्रिभुवन विमानस्थल नाकाबाट १ खर्ब पाँच अर्बभन्दा बढी मूल्य बराबरका वस्तु आयात भएको देखिन्छ ।

नेपालले वीरगन्ज भन्सारबाट ४९ अर्ब ४१ करोड, विराटनगर भन्सारबाट २८ अर्ब ५६ करोड तथा त्रिभुवन विमानस्थल नाकाबाट १४ अर्ब ४१ करोडभन्दा बढी मूल्य बराबरका वस्तु विदेश निर्यात गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय