काठमाडौं– नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा आएको छ ।

लाहाचोकमा १३२/३३ केभी सबस्टेसनमा ३० एमभिएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । निर्माण सम्पन्न सबस्टेसनबाट कास्कीको माछापुच्छ्र्रे र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति दिइनेछ ।

यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र भरपर्दो हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘पोखराबाट त्यस क्षेत्रमा विद्युत् आपूर्तिको लागि लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायत समस्या थियो । अब लाहाचोक सबस्टेसनबाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत् सेवा सुधार भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय बिजुली पाउनेछन् भने चुहावट समेत घट्नेछ ।’

आयोजना अन्तर्गत यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ । २१ किलोमिटर तार तानिएको छ । एक्जिम बैंक अफ इन्डियाको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको आयोजना अन्तर्गत लाहाचोक लेखनाथ प्रसारण लाइन निर्माणधीन रहेको छ ।

सन् २०१८ जुलाई २१ बाट सुरु भएको उक्त आयोजनाको नयाँ मोदी–लाहाचोक खण्डको निर्माण स्थानीयको अवरोध साथै बन क्षेत्रको समस्याका कारणले प्रभावित भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय