काठमाडौं– भक्तपुरबाट तीव्र गतिमा काठमाडौंतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् ।
मध्यपुरथिमि नगरपालिका–४, चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डको डिभाइडरमा ठोक्किएर बा४च ५७६ नम्बरको कार दुर्घटना भएको थियो । सो कारले गुडिरहेको अर्को ट्याक्सीलाई समेत ठक्कर दिँदा कारमा सवार धनुषा जनकपुर उपमहानगरपालिका–१५ घर भई काठमाडौं महानगरपालिका शान्तिनगर बस्ने वर्ष २२ का अभिषेक शाहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
दुर्घटना भएलगत्तै घाइते भएका तीनैजानलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा शाहको गए राति मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङ गम्भीर घाइते भएका छन् । घाइते घिसिङको मध्यपुर अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
डिभाइडरमा ठोक्किएर पुनः ट्याक्सीसँग ठोक्किएपछि घाइते भएका ट्याक्सी चालक रामेछापको मन्थली नगरपालिका–१२ घर भई हाल ललितपुर बस्ने ३२ वर्षीय भीमसेन खत्री भने राति उपचारपछि घर फर्किएको उनले जानकारी दिए । डिभाइडरमा ठोक्किएको कार पूर्णरुपमा क्षति भएको छ ।









