काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३३ जना कर्मचारीलाई तलब भुक्तानी गरेको विषयमा नियमनकारी निकाय बिमा समितिलाई स्पष्टीकरण दिएको छ । स्पष्टीकरण पत्रमा कम्पनीले ती ३३ जना कर्मचारीलाई तोकिएको निश्चित काम मात्र गर्ने ९ध्यचप दबकभम० सर्तमा नियुक्त गरेकाले उनीहरुको हाजिरी नदेखिएको प्रस्ट पारेको छ ।

‘प्राइम लाइफले हुँदै नभएका कर्मचारीलाई तलबको नाममा अनधिकृत रुपमा रकम भुक्तानी गरेको भन्दै एउटा टेलिभिजनले प्रचार गरेपछि बिमा समितिले हामीलाई प्रस्ट पार्न भनेको हो,’ कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले भने, ‘हामीले यथार्थ जे हो त्यही जानकारी गरायौं ।’

उनका अनुसार कम्पनीले चार वर्षअघि वैदेशिक रोजगारीमा जाने व्यक्तिको म्यादी बिमा ल्याउने कामको लागि मार्केटिङमा ३३ जना कर्मचारी नियुक्त गरेको थियो । निश्चित काम र निश्चित अवधिका लागि नियुक्ति पाएका ती कर्मचारीले तोकिएअनुसार व्यवसाय ल्याउनुपर्ने र तोकिएको तलब सुविधा पाउने सर्त थियो । उनीहरुलाई कार्यालयमा उपस्थित भएर हाजिर हुन नपर्ने, बरु वैदेशिक रोजगार कार्यालयनजिकै खोलिएको काउन्टरमा बसेर मार्केटिङ गर्नुपर्ने सर्त रहेको भण्डारीले बताए ।

कम्पनी सञ्चालक समितिको अख्तियारी अनुसारै व्यवस्थापनले त्यसरी कर्मचारी नियुक्त गरेर काममा लगाएको उनले बताए । ‘ती कर्मचारी सर्त अनुसारको जिम्मेवारी पूरा गरे र कम्पनीले उनीहरुकै बैंक खातामा तलब जम्मा गरिदियो,’ भण्डारीले भने, ‘सोही व्यहोरा बिमा समितिलाई जानकारी गराएका छौं ।’

कम्पनीले उनीहरुको तलबमा नियम अनुसार लाग्ने कर कट्टी गरेर कर कार्यालयमा दाखिला गरेको व्यहोरा पनि बिमा समितिलाई जानकारी गराएको छ । ती कर्मचारीलाई चार वर्षअघि दिइएको नियुक्तिपत्रको प्रति कार्यालयको फाइलमा सुरक्षित रहेको भण्डारीले बताए । ‘यस्तो भुक्तानी कसरी अनधिकृत भयो ?’ टेलिभिजनको प्रचारबाजीप्रति संकेत गर्दै भण्डारीले प्रश्न गरे । कम्पनीले ती कर्मचारीको म्यादी जीवन बिमा पनि गरिदिएको थियो । सोको अभिलेख पनि कम्पनीमा सुरक्षित रहेको भण्डारीको भनाइ छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/०७५ मा भुक्तानी गरेको सो तलब सुविधा सोही आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख छ । उक्त वित्तीय विवरण कम्पनीले बिमा समितिमा समेत बुझाएको थियो । समितिमा कम्पनीले बुझाएको वित्तीय विवरण पूर्वस्वीकृति र एक्चुरी भ्यालुएसन भई अन्तिम स्वीकृति समेत लिएर साधारणसभाबाट पारित भइसकेको छ ।

टेलिभिजनले सनसनीपूर्ण तरिकाले प्रचार गरेपछि बिमा समितिले सो सम्बन्धमा ७ दिनभित्र स्पष्टीकरण बुझाउन गत आइतबार कम्पनीलाई पत्राचार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय