काठमाडौं– यातायात व्यवस्था विभागले सात लाख चालक अनुमतिपत्र आगामी ६ महिनाभित्र छापिसक्ने जनाएको छ । लामो समयसम्म विभिन्न कारण चालक अनुमतिपत्र नियमित छपाइ हुन सकेको थिएन । अहिले दैनिक तीन ‘सिफ्ट’ मा छाप्न थालिएको विभाग प्रवक्ता डा लोकनाथ भुसालले बताए। अबको ६ महिनामा अनुमतिपत्र छापिसकेर सम्बन्धित कार्यालयमा पठाइसकिने उनको भनाइ छ । ‘यसअनुसार नै काम भइरहेको छ,’ उनले भने ।

अहिले दैनिक १० हजारका दरले अनुमतिपत्र छापिरहेको उनले जानकारी दिए । मास प्रिन्टरको क्षमताअनुसार नै छापिइरहेको छ । विभागमा हाल सञ्चालनमा रहेको प्रिन्टरले १० मिनेटमा चार अनुमतिपत्र छाप्न सक्छ । अहिले विभागमा एउटा मात्रै‘ प्रिन्टर रहेको र त्यसमा समस्या आउदा काम रोकिन सक्ने उनले बताए । उनी भन्छन्, ‘प्रिन्टरमा समस्या नआउँदा हामीले लक्ष्य लिइएको समयसम्म छापिइसक्न समस्या हुँदैन ।’ विभागले पहिलो चरणमा काठमाडौं उपत्यकामा रहेका कार्यालयका अनुमतिपत्र छाप्न थालेको छ । उपत्यकाभित्र एकान्तकुनासँगै चावहिल, ठूलो भर्याङ र भक्तपुरको जगाती कार्यालयका अनुमतिपत्र अहिले छापिरहेको छ ।

ती कार्यालयमध्ये पनि पहिलो चरणमा एकान्तकुना कार्यालयको छापिरहेको उनले बताए । उपत्यकाका कार्यालयको छापिइसकेर मात्रै उपत्यका बाहिर रहेका २१ कार्यालयको छापिनेछ । उनले भने, ‘पहिले बढी चाप भएका कार्यालयको छापेर विस्तारै कम चाप भएका कार्यालयको छापिनेछ ।’ गत महिनामा मात्रै नयाँ कार्ड आएपछि छपाइलाई तीव्रता दिइएको हो । नयाँ आएको कार्ड विभागकै प्रयोगशालामा परीक्षण गर्दा समस्या नआएको प्रवक्ता डा भुसालले जानकारी दिए ।

विभागले १४ लाख कार्ड खरिद गरेकाले चालु आवमा र आगामी आवको केही महिनासम्म समस्या नआउने देखिएको छ । छाप्न बाँकी सात लाख र विभागले लिएको अनलाइन फारमका आधारमा अझै झण्डै चार लाख परीक्षामा सहभागी हुन बाँकी छ ।

उनका अनुसार अहिले नियमित परीक्षा भइरहेकाले संख्या घटिरहेको छ । परीक्षामा सहभागीमध्ये झण्डै २५ देखि ३० प्रतिशत मात्रै पास हुने गरेका छन् । त्यसका आधारमा पनि तत्काल अनुमतिपत्र अभाव नहुने र आगामी वर्षका लागि पनि समयमै तयारीमा लागिने उनले बताए ।
व्यवस्थापन सहज हुन नसक्दा वर्षौंदेखि सेवाग्राहीले समयमै चालक अनुमतिपत्र पाउन सकेका छैनन् । दुई वर्ष पहिलेसम्म छपाइ गर्ने उपकरण प्रिन्टरको क्षमता कम भएकाले सेवाग्राहीले वर्षौंसम्म कुर्नुपरेको थियो ।

पछिल्लो समय अनुमतिपत्र छाप्ने कार्ड नभएकाले अनुमतिपत्र छपाइ सुस्त थियो । विभागले दुई वर्ष पहिले माघमा फ्रान्सको (सेल्प सास) कम्पनीसँग १४ लाख कार्ड खरिद गने गरी सम्झौता गरेको थियो । सम्झौताअनुसार नै नमूना खाली कार्ड विभागमा रहेको सफ्टवेयरमा परीक्षण गरिएका थियो ।

पर्सनलाइजेसनमा समस्या देखिएकाले कार्ड आउन झण्डै डेढ वर्ष लागेको थियो । यसअघि मास प्रिन्टर र कार्ड एउटै कम्पनीबाट हुँदा छपाइमा समस्या नआए पनि फरक कम्पनी हुँदा समस्या आएको हो । कम्पनीले नमूना कार्ड पठाएकामा त्यसको परीक्षण सफल भएपछि सोही कार्ड नियमित छपाइ थालिएको हो । गत वर्ष बन्दाबन्दीको समयमा विभागले तीन सिफ्टमा अनुमतिपत्र छपाइ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय