चितवन– बिजुलीका खम्बा प्रयोग गरेवापत भाडा तिर्न अटेर गरेका इन्टरनेट प्रदायकसँग नेपाल विद्युत् प्राधिकरणले झन्डै एक करोड रुपैयाँ असुलेको छ । प्राधिकरणको भरतपुर वितरण केन्द्रले कडाइ गरेसँगै साउनयता ९६ लाख ८४ हजार ९७ भाडा असुली गरेको हो ।

जिल्लाका केबल टिभी तथा इन्टरनेट प्रदायक संस्थाबाट सो रकम असुल गरिएको हो । केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार भदौबाट भाडा उठाउन थालिएको हो । केन्द्रको कार्यक्षेत्रका १४ वटा कम्पनीले खम्बा प्रयोग गरेबापत सो रकम बुझाएका हुन ।

केही कम्पनीले आफ्नो नाम नखुलाई भाडा तिरेका छन् भने १२ वटा कम्पनीले नाम खुलाएर तिरेका हुन । भाडा तिर्नेमा चित्रवन युनिक केबलले ३० लाख ५५ हजार ६८, कनेक्ट नेपालले १ लाख ७७ हजार ९७५, त्रिवेणी केबल नेटवर्कले १ लाख ९३ हजार ८००, प्राइम नेटवर्कले २ लाख ३ हजार ४००, फाइवर वर्ल्ड कम्युनिकेसन प्रालिले १ लाख २२ हजार ४०, ब्रोडलिंकले १ लाख १ हजार ७०० र वेबसर्फरले ३ लाख ५ हजार १०० भाडा तिरेका छन् ।

यसैगरी डिसहोमले ६ लाख ६१ हजार ५०, पिडिएस सर्भर नेटवर्कले २५ हजार ४२५, सुबिसु नेटवर्कले २२ लाख २४ हजार ६६, टेकमाइन्स कम्युनिकेसनले २० लाख र आजियाटा एनसेलले ८५ हजार ४२८ रकम बुझाएका छन् ।

दुईवटा कम्पनीले नाम नखुलाई १ लाख ११ हजार ४८७ र ४ लाख १७ हजार ५४० जम्मा गरेको उनले बताए । पौडेलले भने, ‘अझै चारवटा कम्पनीले भाडा तिर्न बाँकी छ ।’ तिर्न बाँकी रहेका कम्पनीमा वर्ल्डलिंक, भायनेट, सिम टिभी र क्लासिटेकले भाडा बुझाउन बाँकी रहेको उनले बताए ।

वर्ल्डलिंकले आर्थिक वर्ष २०७४–७५ देखिको खम्बा प्रयोग गरेबापतको ६१ लाख, भायनेटले ३० लाख, सिम टिभीले ३० लाख र क्लासिटेकले २१ लाख ७६ हजार बुझाउन बाँकी रहेको उनले जानकारी दिए । महसुल नतिर्ने कम्पनीले भाडा नतिरेमा लाइन काट्न र खम्बामा राखिएको उपकरण जफत गर्न विद्युत् प्राधिकरणसँग छलफल भइरहेको उनको भनाइ छ ।

केन्द्रले भाडा नतिर्ने कम्पनीको लाइन काट्ने र उपकरण जफत गर्ने कामसमेत गरेको थियो । केन्द्रले कडाइ गरेपछि इन्टरनेट प्रदायक संस्थाले आन्दोलन गर्दै सेवा अवरुद्ध गरेका थिए । जिल्ला प्रशासन कार्यालयमा सहमति भएपछि सेवा थालिएको थियो । त्यसलगत्तै अन्य कम्पनीले भाडा बुझाए पनि चारवटाले अटेर गरेको पौडेलको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय