काठमाडौं– पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको छ ।

यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताइन् । ‘आगामी शुक्रबारदेखि अझै अर्काै मौसमी प्रणालीसमेत विकसित हुने सम्भावना देखिएको छ,’ उनले भनिन् ।

विभागले आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । बिहीबार देशभर आंशिक बदली रही अपराह्न पछाडी प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री र अधिकतम तापक्रम १८.७ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम –४.३ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय