काठमाडौं– अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको ३४ लाख रुपैयाँ डुबेको छ भने आफैं मानव तस्करको जालोमा फस्न पुगेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छ्न ।

मानिस बेचबिखनको आरोप लागेका दाङ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतीमध्ये श्रीमती सुधा देवकोटा पक्राउ परे पनि श्रीमान मुक्तिनारायण केसी अझै फरार छन् । अदालतको आदेशले देवकोटा भने पूर्वक्षका लागि जेल चलान भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

उनीहरुविरुद्ध विभिन्न मितिमा दुई पीडित व्यक्तिको जाहेरी परेको थियो । उनीहरुले अमेरिकामा मासिक तीन लाख तलब हुने लोभ देखाएर २७ लाख मागेका थिए । एक पीडितबाट उनीहरुले पटकपटक गरी १९ लाख लिएको समेत खुल्न आएको छ । सन् २०१९ को जनवरी २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डोनेसियाको बाली तथा जाकार्ता पुर्याई बोलेभिया हुँदै अमेरिका जाने भनी लगेका थिए । तर विमानस्थलमा पुर्याउँदा सेटिङ नमिलेको भनी फर्काए । उनीहरुले पछि पीडितलाई मेक्सिको हुँदै अमेरिका जाने भनी इथियोपिया पुर्याई कोठामा साढे तीन महिना बन्धक बनाएको खुल्न आएको छ ।

आफू बेचिएको थाहा पाएपछि पीडितले घरबाट टिकट मगाइ फर्किएर २०७६ कात्तिक २१ गते ब्युरोमा जाहेरी दिएका थिए ।
यस्तै उनीहरुले अर्का एक व्यक्तिलाई पनि बेचबिखन गरेको भनी जाहेरी परेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । उनीहरुले एक व्यक्तिलाई काठमाडौंको स्वयम्भूबाट बसमार्फत भारतको नयाँ दिल्लीमा दुई महिना राखी फेरि काम नभएको भनी नेपाल फर्काएर मलेसिया हुँदै इन्डोनेसिया पुर्याएको खुल्न आएको छ ।

अमेरिका लैजाने बहानामा त्यहाँ सात महिना कोठामा बन्धक बनाइएको र पछि जाकार्ताको इमिग्रेसनबाट उनी पक्राउ परेका थिए । त्यसपछि उनलाई १४ दिन हिरासतमा राखेर नेपाल फर्काइएको थियो । विसं २०७६ मंसिर १३ गते आएका पीडित व्यक्तिले १९ गते जाहेरी दिएका थिए । उनीबाट ती दम्पतीले १५ लाख लिएको समेत खुल्न आएको छ ।

सोही आधारमा खोजतलासका क्रममा काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीबाट अघिल्लो महिनामा पक्राउ परेकी देवकोटालाई जिल्ला अदालत काठमाडौंको आदेशले पूर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । केसीको भने खोजी जारी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय