काठमाडौं– चालु आर्थिक वर्ष २०७८–७९ को पाँच महिनामा मुलुकको व्यापार घाटा वस्तु व्यापार घाटा ७३५ अर्ब ४९ करोड पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५४.७ प्रतिशतले बढी हो । निर्यात उच्च दरमा वृद्धि भए पनि निर्यातको आकार सानो हुँदा व्यापार घाटाको आकार बढेको हो ।

सो अवधिमा नेपालको वस्तु निर्यात १०५.६ प्रतिशतले बढेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । यो अवधिमा नेपालबाट १०२ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु विदेश निर्यात भएको छ । सोही अवधिमा आयातको आकार ८३८ अर्ब ४१ करोड पुग्दा व्यापार घाटा उच्च हुन पुगेको हो । यो पाँच महिनामा वस्तु आयात ५९.५ प्रतिशतले बढेको छ ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १३८.० प्रतिशत र २८.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १.४ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ । अलैंची, चिया, जस्तापाता, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४.६ प्रतिशत, ५७.८ प्रतिशत र १११.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधी, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल लगायत वस्तुको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्ती लगायत वस्तुको आयात घटेको छ ।

निर्याततर्पm कञ्चनपुर, मेची, र नेपालगन्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ९२ अर्ब ३४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१ अर्ब ८१ करोड बराबरको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय