काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले डेरावालसँग बढी महसुल लिने घरवेटीको बिजुली लाइन काट्ने बाटो खोल्दै विद्युत् वितरण विनियमावली, २०७८ जारी गरेको छ । प्राधिकरणले डेरावालसँग विद्युत् महसुलको नाममा बढी रकम असुल्न नपाइने बताउँदै आए पनि त्यसो गर्ने घरपेटीलाई कारवाही गर्ने नियमावली थिएन ।

अब भने घरधनीले भाडामा बस्ने व्यक्तिसँग प्राधिकरणले तोकेभन्दा बढी महसुल असुल गरेमा लाइन काट्न सकिने भएको छ । घरधनीले डेरावालसँग महँगो विद्युत् महसुल असुल गरेको गुनासो आएपछि प्राधिकरणले त्यस्ता घरधनीको लाइन काट्ने व्यवस्था गरेको हो । यसबाट घरभाडामा बस्ने उपभोक्तालाई सर्वसुलभ विद्युत् सेवाको प्रत्याभूति हुनेछ ।

भाडामा बस्ने व्यक्तिले तोकिएका निश्चित सर्त पूरा गरी छुट्टै मिटर राखी विद्युत् सेवा लिन समेत सक्ने व्यवस्था नियमावलीले गरेको छ । यस्तो व्यवस्थाबाट घरभाडामा बस्ने उपभोक्ताले समेत अन्य ग्राहक सरह सर्वसुलभ विद्युत् सेवा उपभोग गर्न पाउनेछन् ।

बक्यौता भुक्तानी गर्ने प्रतिबद्धतासहित छुट्टै मिटर राख्नको लागि घरधनीको लिखित सहमति, घरधनी र बहालमा बस्नेबीच कम्तीमा एक वर्षका लागि गरिएको घरबहाल सम्झौता, घरबहालमा बस्ने व्यक्तिलाई छुट्टै मिटर दिन प्राविधिक दृष्टिकोणबाट उपयुक्त भएमा, घरधनीको बाँकी बक्यौता नभएमा र बहालमा बस्नेको मिटरसमेत एउटै स्थानमा राख्न सकिने गरी वायरिङको व्यवस्था गरिएका सर्त पूरा गर्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय