काठमाडौं– एक व्यक्तिले श्रीमतीको नाममा उद्योग दर्ता गरी खान अयोग्य (गुणस्तरहीन मह) बनाएर बिक्री गर्ने गरेको खुलेको छ । ती व्यक्तिले विगत सात वर्षदेखि नै यसरी स्पर्श हनीका नामबाट खान अयोग्य मह खुवाउँदै आएको फेला परेको छ । उनले विशेषगरी होटल रेस्टुरेन्टमा उक्त मह पठाउने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

मिसावट गरी गुणस्तरहीन मह उत्पादन तथा बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२७ ज्याठा बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–६ का नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो । उनको साथबाट गुणस्तरहीन तयारी मह ६०० किलो, मह बनाउन प्रयोग गरिने कच्चा ६ हजार ५०० किलो, ग्लुकोज ५०० किलो, चिनी १०० किलो, १–१ थान तौल मेसिन, लेबल मेसिन, सिल मेसिन, पेट्राइज मेसिन, स्टोरेज मेसिन, स्पर्श हनीका लेभल र एक हजार पिस जार बरामद गरिएको छ ।

उनले काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेस्टुरेन्टमा थोक तथा खुद्रा बिक्री वितरण गर्ने गरेको पाइएको छ । मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गर्ने गरेका थिए । गुणस्तरहीन मह बनाइ प्रतिकेजी ६५० मा बिक्री गर्ने गरेको पाइएको महाशाखाले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गर्दा महमा न्यूनतम मापदण्ड अनुसारको नरहेको र खान योग्यसमेत नरहेको पाइएको छ । उनलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाइएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय