काठमाडौं– गृह मन्त्रालयले प्य्रांकका नाममा व्यक्तिलाई जानकारी नदिई गोप्य रुपमा भिडियो खिच्ने र उसको सहमतिबिनै सामाजिक सञ्जालमा पोस्ट गर्नेविरुद्ध कारवाहीको चेतावनी दिएको छ ।
गृहले बिहीबार एक सूचना जारी गर्दै मजाक, ख्यालठट्टा वा मस्करी (प्य्रांक) को नाममा सर्वसाधारणलाई शारीरिक वा मानसिक रुपमा सास्ती वा हैरानी दिने वा दिक्दार बनाउनेलाई कारवाही गर्ने चेतावनी दिएको हो ।
सार्वजनिक स्थलमा गरिने त्यस्तो व्यवहारबाट व्यक्तिमा मानसिक तनाव उत्पन्न हुन सक्ने, सामाजिक सद्भाव खल्बलिन सक्ने र द्वन्द्व उत्पन्न हुन सक्ने भन्दै त्यस्तो कार्यमा नलाग्न गृहले आग्रह गरेको छ । त्यसबाट व्यक्तिगत गोपनीयता हनन् हुने विषयमा पनि गृहले सम्झाएको छ ।
मन्त्रालयले व्यक्तिको सहमति बिना भिडियो नखिच्न र त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक नगर्न पनि सुझाएको छ । यस्तो क्रियाकलापमा संलग्न भए कानुन बमोजिम कारवाही हुने मन्त्रालयले जनाएको छ ।










