काठमाडौं– झण्डै दुई हप्तादेखि बिग्रिएको मौसममा सुधार आउन अझै केही दिन लाग्ने देखिखएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु कुहिरो लागेको छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताइएको छ । शनिबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री र अधिकतम तापक्रम १४ डिग्री सेल्सियस छ । त्यस्तै शुक्रबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ५ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम १९.८ डिग्री सेल्सियस छ ।









