काठमाडौं– प्रहरीले विदेशी ब्रान्डका मदिराको अवैध कारोबार गर्ने एउटा समूहलाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले राजस्व छलेको डेढ करोडको मदिरा समेत बरामद गरेको छ ।

महानगरीय प्रहरी महाशाखाका अनुसार पर्सा जिल्ला गादी घर हाल भई बूढानीलकण्ठ एरिया बस्ने सन्तोषचन्द्र बख्रेल समेतका व्यक्तिले रेड लेबल, ब्ल्याक लेबल, एब्सोलुट भोड्का, चिभास रिगल लगायत मदिरा भारतबाट चोरी पैठारी गरी नेपाल ल्याएर कारोबार गरिरहेका थिए ।

महाशाखाले गोप्य सूचनाको आधारमा विशेष टोली परिचालन गरी गत शुक्रबार उपत्यकाको रामकोट, बानेश्वर, कपन लगायत स्थानबाट २९६ कार्टुन मदिरासहित सन्तोषचन्द्र बख्रेल समेत ४ जनालाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाएको छ । बरामद गरिएको मदिरा गुणस्तर परीक्षणको लागी समेत पठाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्सा, गादीका सन्तोषचन्द्र बख्रेल, काठमाडौंको कागेश्वरी मनोहराका शैलेश पन्त, पर्सा सुवर्णपुरका रविन पाख्रिन, सर्लाही बरहथवाका नारायणप्रसाद घिमिरे छन् ।

उनीहरुले रवि भन्ने भारनीय नागरिक र सन्तोषचन्द्र बख्रेलको योजनामा भारतबाट राजस्व छलेर मदिरा ल्याई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएकोप्रहरीको भनाइ छ ।

राजस्व छलिएका मदिरा विशेष गरी पार्टी प्यालेसमा बिक्री गर्ने र बिक्रीका क्रममा ड्युटी फ्रीको भन्ने गरेको पनि प्रहरीको दाबी छ । बरामद मदिराको अनुमानित बजार मुल्य एक करोड ५० लाख रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय