काठमाडौं– क्रस होल्डिङ भएका कम्पनीहरूले बैंक, वित्तीय संस्थाबाट हायर पर्चेज कर्जा नपाउने भएका छन् । राष्ट्र बैंकले आइतबार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० को दोस्रो संशोधन, २०७५ मा संशोधन गरी नयाँ व्यवस्था लागू गरेको हो ।
हायर पर्चेज कर्जा लिएको कुनै कम्पनीको अर्को कुनै कम्पनीमा समेत २५ प्रतिशत वा सोभन्दा बढी सेयर पार्टनर (क्रस होल्डिङ) भएमा त्यस्तो कम्पनीलाई हायर पर्चेज कर्जा नदिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन गरेको छ ।
यस्तो कर्जा व्यक्ति, कम्पनीको सञ्चालक, प्राइभेट लिमिटेड कम्पनीका सेयरधनी, साझेदारी फर्मका साझेदार, फर्मका प्रोप्राइटर तथा त्यस्ता व्यक्ति, सञ्चालक, सेयरधनी, साझेदार वा प्रोप्राइटरका एकाघरमा बसोबास गरी आएका वा छुट्टा भिन्न भएका पति वा पत्नी, छोरा, भाइ तथा दिदी बहिनीलाई समेत लागू हुने केन्द्रीय बैंकले जनाएको छ ।
कुनै व्यक्तिको २५ प्रतिशतभन्दा बढी सेयर कुनै हायर पर्चेज कर्जा लिने कम्पनीसँग भए वा त्यस्तो कम्पनीको कुनै जिम्मेवारीमा रहेको भए पनि त्यस्ता व्यक्तिलाई समेत कर्जा नदिन राष्ट्र बैंकले भनेको छ ।









