काठमाडौं– सरकारी स्वामित्वको नेपाल आयल निगमको घाटा बढ्न थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा कम हुन सकेको छैन ।

विश्व बजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले फेब्रुअरी १ मा नयाँ मूल्यसूची पठाएको छ । १५ दिनअघिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ९२ पैसा, डिजेलमा प्रतिलिटर ७ रुपैयाँ २४ पैसा, मट्टीतेलमा प्रतिलिटर ८ रुपैयाँ ८० पैसा तथा हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ ४८ पैसा बढेको छ । एलपी ग्यासमा प्रतिसिलिन्डर ८१ रुपैयाँ ६२ पैसा घटेको छ ।

निगमले गए राति १२ बजेदेखि डिजेल, मट्टीतेल र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ ।

मूल्य बढेसँगै डिजेल र मट्टीतेल प्रलिलिटर १२५ तथा पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य अहिलेसम्मकै बढी हो । यसअघि २०७० सालमा नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १४० पुगेको थियो । एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० ले वृद्धि गरी प्रतिलिटर ११६ पुर्याएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी १ हजार ९५ अमेरिकी डलर पुर्याइएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढे पनि अझै मासिक साढे ४ अर्ब घाटा रहेको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब २ अर्ब २३ करोड घाटा रहेको प्रवक्ता उपाध्यायको भनाइ छ । मूल्य वृद्धिपछि पनि आगामी १५ दिनमा पेट्रोलमा ४३ करोड, डिजेलमा १ अर्ब १ करोड र एलपी ग्यासमा करिब १ अर्ब घाटा हुने निगमको प्रक्षेपण छ ।

निगमलाई मट्टीतेल तथा हवाई इन्धनमा भने सामान्य नाफा छ । १५ दिनमा मट्टीतेल बिक्रीबाट २ करोड, हवाई इन्धन (आन्तरिकतर्फ) ३ करोड र हवाई इन्धन (बाह्यतर्फ) १६ करोड नाफा हुने निगमको आकलन छ । डिजेल, पेट्रोल र ग्यासको उच्च घाटा मट्टीतेल तथा हवाई इन्धनको बिक्रीबाट पूर्ति हुन नसक्ने निगमले जनाएको छ ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ २३ पैसा, डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ५६० रुपैयाँ ९ पैसा घाटा छ भने मट्टीतेलमा प्रतिलिटर १८ रुपैयाँ १२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ ५० पैसा र बाह्य इन्धनमा प्रतिलिटर ३२ रुपैयाँ ७२ पैसा नाफा छ ।

मूल्य समायोजन गरे पनि इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्न निगमले ऋण लिनुपर्ने बाध्यता रहेको सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । निगमसँग सञ्चित बचत शून्यमा झरेपछि मूल्य समायोजनपश्चात पनि प्रतिमहिना ५ अर्ब ऋण लिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

सञ्चित रकम र अन्य दायित्व रकम सबै पेट्रोलियम पदार्थ खरिदमा सकिएपछि निगमले गत साता सरकारसँग सहयोग मागेर आइओसीलाई भुक्तानी गरेको थियो । सरकार मातहतको मूल्य स्थिरीकरण कोषबाट समेत १ अर्ब ८० करोड लिएर निगमले आइओसीलाई पठाएको थियो ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य चर्को भएको भनेर आलोचना भइरहँदा सीमावर्ती भारतीय क्षेत्रको भन्दा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ । मूल्य समायोजनपश्चात भारतको सीमावर्ती बजार रक्सौलभन्दा वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपैयाँ २४ पैसा, डिजेल २५ रुपैयाँ ३१ पैसा, एलपी ग्यास प्रतिसिलिन्डर ५० रुपैयाँ ६५ पैसा र हवाई इन्धन (आन्तरिकतर्फ) भारतको कोलकाताको भन्दा काठमाडाँंमा प्रतिलिटर २८ रुपैयाँ ७९ पैसाले सस्तो रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय