काठमाडौं– नेपाल टेलिकमले कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने अन्तर आबद्धता शुल्क समायोजन गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी अन्तरआबद्धता निर्देशिका अन्तर्गत अन्तरदेशीय अन्तरआबद्धता प्रावधानअनुसार शुल्क समायोजन गरेको टेलिकमले जनाएको छ ।

टेलिकमका ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू हुने महसुल दर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएकोमा प्राधिकरणको माघ १६ र १८ गतेको निर्णयबाट स्वीकृत गरेको हो । त्यसपछि माघ १८ गते परिमार्जित महसुल दर कार्यान्वयनमा ल्याएको टेलिकमले जनाएको छ ।

नयाँ अन्तरदेशीय अन्तरआबद्धता कार्यान्वयनपछि एउटा सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेको ग्राहकलाई कल गर्दा लागू हुने महसुल दर कमी आउने कम्पनीले जनाएको छ ।

कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महसुलदर प्रतिमिनेट १ रुपैयाँ १० पैसा मात्र कायम हुनेछ । यसैगरी कम्पनीको जिएसएम, सिडिएमए र सी फोन पोस्टपेडबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महसुलदर प्रतिमिनेट १ रुपैयाँ ८ पैसा तथा कम्पनीको जिएसएम, सिडिएमए र सी फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महसुलदर प्रतिमिनेट १ रुपैयाँ ६२ पैसा कायम हुनेछ ।

साथै, कम्पनीको जिएसएम तथा सिडिएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रतिसन्देश १ रुपैयाँ १० पैसा कायम हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय