जनकपुर– जनकपुरमा १६ महिनादेखि त्रिपाल ओढाएर राखिएको रेल अर्को महिनादेखि चलाउने तयारी सरकारले गरेको छ । भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको करिब ३५ किलोमिटर दुरीमा चल्ने सो रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

‘फेब्रुअरी तेस्रो साताबाट जयनगर–कुर्था रेल सेवा सञ्चालन गर्ने तयारी गरेका छौं,’ नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले भने, ‘रेल चलाउन अब कुनै समस्या छैन, उद्घाटन हुनमात्र बाँकी छ ।’ दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवा उदटन गरेपछि नियमित रूपमा रेल सञ्चालन हुने महाप्रबन्धक झाको भनाइ छ ।

‘कुन मितिबाट रेल चल्छ भन्ने ठ्याक्कै म अहिले भन्न सक्दिनँ,’ महाप्रबन्धक झाले भने, ‘तर हामीले फेब्रुअरीको दोस्रो वा तेस्रो साताबाट रेल चलाउने तयारी गरेका छौं ।’ अहिले न्यूनतम आवश्यकताका आधारमा मात्र थोरै कर्मचारी नियुक्त गरेको र नियुक्त भएका कर्मचारीलाई तालिम दिएर काममा परिचालन गरिसकेको महाप्रबन्धक उनको भनाइ छ ।

‘रेल उद्घाटनपछि सुरुको पहिलो १५ दिन दिनको एकपटक आउने र जाने गरी रेल चलाउँछौं,’ महाप्रबन्धक झाले भने, ‘त्यसपछि यात्रुको चाप र आवश्यकता हेरेर दिनमा दुई–तीनपटकसम्म पनि रेल चलाउन सकिन्छ ।’ रेल चलेपछि तत्कालका लागि जयनगरबाट कुर्थासम्म समान्य सिटमा ७० र एसी सिटमा ३०० भाडा निर्धारण गरिएको उनको भनाइ छ ।

रेल सेवा सञ्चालन गर्ने तयारी गरिए पनि रेल्वे लिकमा रहेका क्लिपहरु चोरी भइरहेको र ठाउँठाउँमा रेल्वे लिकमै तरकारी हाटबजार लगाउने गरेको, रेल्वे लिकमै अनधिकृत रूपमा छाप्रो हालेर पसल चलाउँदै आएको र छाडारूपमा पशु चौपाया छाड्ने गरेकाले रेल सञ्चालनमा कठिनाइ भइरहेकाले यसमा सबैले सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताए ।

२०७७ असोज २ गते भारत ८४ करोड ६५ लाखमा खरिद गरिएको दुईवटा रेललाई धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा त्रिपाल ओढाएर राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय