काठमाडौं– हिमपातले देशका विभिन्न राजमार्ग अवरुद्ध भएको खबर आएका छन् । बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ । राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको छ ।
राजमार्ग अवरुद्ध भएपछि दजनौं सवारी साधन र यात्रु त्यहाँको गैरा तथा बुडर बजारमा रोकिएका छन् । उक्त राजमार्ग अन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ । यसैगरी डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग पनि हिमपातका कारण अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत डोटीको चौखुट्टैमा बाक्लो हिमपात हुँदा बाजुरा, अछामबाट तराई जान आएका तथा तराईबाट पहाड जान हिँडेका सवारी तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
बैतडीमा दशरथचन्द राजमार्गको देहिमाडौं इलाकामा राजमार्ग अवरुद्ध भएपछि सेनाको टोली हिउँ पन्छाएर सडक खुलाएको छ । जुम्लामा लामो र छोटो दुरीमा चल्ने सवारी साधन रोकिएको प्रहरीले जनाएको छ ।
यता, त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा बाक्लो हिउँ पर्दा राजपथ अवरुद्ध भएको छ । पालुङ इलाका प्रहरी कार्यालयका अनुसार बिहीबार राति परेको हिउँ करिब ६ इन्च बाक्लो छ । वर्षा जारी रहेकोले हिउँ पन्छाउन कठिन भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट बताए ।
हेटौंडाबाट काठमाडौंतर्फ प्रस्थान गरेका सवारी त्रिभुवन राजपथको अघोरमा रोकिएको र दिउँसो मौसम सुध्रिए हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
त्रिभुवन राजपथमा यातायात अवरुद्ध भए पनि पूर्व–पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानीतर्फ यातायात सेवा बिहानैदेखि सञ्चालन भइरहेको प्रवक्ता रिमालले बताए । अहिले हेटौंडासहित जिल्लाका विभिन्न भागमा चट्याङ परिरहेको पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।









