काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबार पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि बादल लागिरहेकोे छ । अपराह्नपछि उपत्यकाको मौसममा सामान्य सुधार आउने जनाइएको छ । प्रतिकूल मौसमबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा आइएफआर प्रविधिबाट उडान भइरहेको छ ।
महाशाखाको मौसम बुलेटिन अनुसार आज देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका १–२ ठाउँमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा पनि प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । भोलि आइतबारदेखि वर्षा र हिमपात रोकिने महाशाखाले जनाएको छ । आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।









