चितवन– कोरोना भाइरस संक्रमणको मारमा परेका यहाँका उद्योग, व्यवसाय बैंकले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन् । कोरोना भाइरस संक्रमणका कारण संकटमा परेका उद्योगी व्यवसायी बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि थप मर्कामा परेका हुन् ।
गत वर्षको तुलनामा यो वर्ष बैंकको ब्याज बढेको छ । बैंकको बेसरेट (आधार दर) गत वर्ष पुसको तुलनामा यस वर्षको पुसमा दुई प्रतिशत हाराहारीले बढेको छ ।
उनीहरुले तरलता अभाव देखाउँदै बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तय गर्ने गरेका छन् । बैंकमा तरलता अभावले ब्याजदर बढाउनुपरेको बैंकरहरु बताउँछन् ।
ठूलो उद्योग र कृषि क्षेत्रमा बैंक केही उदार भए पनि मझौला र साना ऋणीलाई उच्च ब्याजदर लिने गरेका छन् । गत वर्षको पुसमा राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ५.६१ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको पुसमा यो दर ६.६ प्रतिशत पुगेको छ ।
यो बेसरेट बैंकमा सबैभन्दा कम हो । सिभिल बैंकको गत आर्थिक वर्षको पुसमा ८.४५ प्रतिशत बेसरेट रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ९.७४ प्रशित पुगेको छ ।
गत वर्षको पुसको तुलनामा यस वर्षको पुसमा सबैभन्दा बढी एनआइसि एसिया बैंकको बेसरेट बढेको छ । गत वर्षको पुसमा यो बैंकको बेसरेट २.७९ प्रतिशत रहेकोमा त्यसमा वृद्धि भएर अहिले ९.४४ प्रतिशत पुगेको छ । यो बैंकले आफ्नो बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तय गर्दा १५ प्रतिशतसम्म पुग्ने गरेको छ ।
कृषि क्षेत्रमा ठूला बैंकले दुई प्रतिशत प्रिमियम थप गरेका छन् भने अन्य क्षेत्रमा ३ देखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेको पाइन्छ । नवील बैंकका एक कर्मचारीले कृषिमा २ प्रतिशत र अन्य क्षेत्रमा ३ देखि ५ प्रतिशत प्रिमियम थप गरेर ब्याजदर कायम गर्ने गरिएको जानकारी दिए । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले बैंकको ज्यादतिका कारण उद्योग व्यवसाय धरासायी हुने अवस्थामा पुगेको बताउँछन् ।
उनले भने, ‘ब्याजदर मनलाग्दी बढाएका छन् । स्वीकृत भएका ऋण समेत नदिएर व्यवसाय धरासायी बनाउने अवस्थामा पुगेका छन् ।’ बैंकले लिएको गलत नीतिका कारण कोभिडपछि प्रभावित व्यवसाय थप समस्यामा पुगेको उनको भनाइ छ ।
संघका पूर्वअध्यक्ष राजन गौतमले बैंक नाफामुखी भएको बताउँछन् । उनले भने, ‘बैंकले व्यवसायीको समस्या बुझेन, राज्य पनि उदासिन छ । बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि २५ प्रतिशत उद्योग धरासायी भइसकेका छन् ।’ यस्तै स्थिति रह्यो भने उद्योगीले आत्महत्या गर्न बाध्य हुनुपर्ने स्थिति आउन सक्ने चेतावनी उनको छ । संघीय राजधानीका एक व्यवसायी हालै मात्र परिवारसहित भाग्नु परेको बाध्यताको पछाडि बैंक प्रमुख कारण रहेको उनको दाबी छ ।
बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि पर्यटन व्यवसाय झनै प्रभावित बनेको छ । कोभिडले पर्यटन व्यवसाय ठप्प प्रायः रहेका बेला बैंकको ब्याज उच्च हुँदा व्यवसायी तिर्नै नसक्ने स्थितिमा पुगेका छन् । सौराहाको होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले कोभिड–१९ ले थला परेको पर्यटन व्यवसायलाई राज्यले हेर्नुपर्नेमा जोड दिए ।
व्यवसाय रहे बैंक रहने र डुवे बैंकसमेत डुब्ने भएकाले अप्ठ्यारो परेको बेला बैंकले व्यवसायीलाई पेल्न नहुने उनको तर्क छ । उनले भने, ‘गाह्रो हुँदा पेल्ने परिपाटी भइरहेको छ । बैंक र व्यवसायीबीचमा नङ र मासुको सम्बन्ध हुनुपर्छ ।’
उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष कल्याण जोशीले बैंकहरुले ब्याज बढाउँदै लगेपछि व्यवसाय गर्न कठिन हुँदै गएको बताए । उनले भने, ‘थप लगानी गर्न बैंक तयार छैनन्, व्यवसायको खर्च बढेको छ, व्यवसाय कम छ । उद्योगको लागत मूल्य निकै बढ्यो ।’ होटल, हस्पिटल, औषधि उद्योग लगायत ठूला लगानीकर्ताको रुपमा परिचित जोशीले कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमसँगै बैंकहरुले बढाउँदै गएको ब्याज दरका कारण व्यवसाय विस्तार गर्न कठिन हुने अवस्था आएको बताए ।
रोयल फर्मास्युटिकल्स प्रालिका प्रबन्ध निर्देशक केशव लामिछानेले उद्योगको लागत मूल्य निकै बढेको भन्दै कोभिड–१९ का कारण थला परेको उद्योग क्षेत्रमा बैंकको बढ्दो ब्याजले झन् समस्या बनाएको बताए ।
निर्माण व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष समेत रहेका लामिछानेले स्वीकृत भएका ऋण बैंकले नदिएको, सम्झौताभन्दा बढी ब्याज लिएको, विभिन्न बहानामा दुःख दिएको गुनासो व्यवसायीबाट आएको जानकारी दिए । उनले भने, ‘अहिलेको विषम परिस्थितिमा राष्ट्र बैंकले हस्तक्षेप गरेर उद्योग व्यवसाय बचाउनुपर्छ ।’
उद्योगी राजु पौडेलले बैंकको ब्याज बढ्दा उत्पादनको लागत मूल्य बढेको र उपभोक्तासमेत मार परेको बताए । वैधानिक बाटोबाट पुँजी बैंकमा आउन नसक्दा तरलता अभाव भएको उनको भनाइ छ ।
सरकारले ब्याज नियन्त्रणमा काम गरेको भए पनि पर्याप्त हुननसकेको उनको भनाइ छ । उद्योग संघ चितवनका निवर्तमान अध्यक्षसमेत रहेका पौडेलले आन्तरिक उत्पादन कम र आयात बढी हुँदा अर्थतन्त्र कमजोर बनेको बताए । बैंकमा ऋण लिने अधिकांश उद्योगी व्यवसायी आफू मर्कामा परेको गुनासो गर्ने गरेका छन् ।









