गलेश्वर– पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम आइतबारदेखि सुरु भएको छ ।

दरबाङको कमेरेमा अडिट नम्बर १ को सुरुङ खन्न सुरु गरिएको हो । नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विस्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरुङ खन्न थालिएको निर्माण कम्पनी धौलागिरि हाइड्रो लिमिटिडले जनाएको छ ।

प्रवासी म्याग्देलीको मुख्य लगानी रहेको सो आयोजनाका साइट इन्जिनियर बालकुमार रोकाका अनुसार २५० मिटर अडिट खनेपछि मुख्य सुरुङमा जोडिने र बाँध र पावर हाउस दुवैतर्फ सुरुङ निर्माण सुरु हुनेछ । ‘अब इल्पुमा रहेको बाँध र तल्लो दुखुको आउटलेटबाट पनि सुरुङ खन्ने तयारी भइरहेको छ,’ इन्जिनियर रोकाले भने । आइतबारदेखि सुरु भएको सुरुङ निर्माणको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले सुरुआत गरेका थिए ।

जलविद्युत् आयोजनाका अध्यक्ष विनोद कुँवरले टनेल निर्माणको कामलाई तीव्र गतिमा अगाडि बढाइने बताए । ‘टनेलमा उत्साहजनक प्रगतिसहित समयमै आयोजनाको काम सम्पन्न गर्नेछौं, प्रभावित क्षेत्रका बासिन्दालाई लगानीका लागिसमेत अवसर छ,’ अध्यक्ष कुँवरले भने । उनले अर्को महिनाबाट सुरुङ खन्ने काम राति र दिउँसो गरी दुई सिफ्टमा हुनेसमेत बताए । म्याग्दी खोलाबाट विद्युत् निकाल्न प्रवासी म्याग्देली र स्थानीयवासीको लगानीमा धौलागिरि कालिका हाइड्रो लिमिटेडले आयोजना निर्माण गर्न लागेको हो ।

मालिका–७ बिम र वडा नं ५ देविस्थान तथा धौलागिरि गाउँपालिका–७ को सीमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने आयोजनाको साढे पाँच किलोमिटर सुरुङ मार्ग रहनेछ । सुरुङमार्ग हुँदै ल्याइने पानीलाई सय मिटर हेडबाट रातोढुंगामा निर्माण हुने विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ ।

३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ । आयोजना निर्माणमा पाँच अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनाका प्रबन्ध निर्देशक इन्जिनियर हर्कमान घर्ती मगरले जानकारी दिए ।

आयोजनाबाट उत्पादन हुने विद्युत् बिमको सबस्टेसनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ । हिउँदको चार महिना प्रतियुनिट ८.४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट ४.८० पैसामा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री हुने सम्झौता भएको छ ।

आयोजनाको साइट कार्यालय, आवास गृहसहितका भौतिक संरचनासमेत तयार भइसकेको छ भने पहिलो र दोस्रो कोराना भाइरसका कारण निर्माणमा समस्या भए पनि अहिले जनशक्तिको व्यवस्थापन भएकाले तीव्र गतिमा अगाडि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय