काठमाडौं– राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा ८ करोड ५० लाख मूल्य बराबरको ८ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो ।
कम्पनीले निष्कासन गर्ने साधारण शेयरमा कूल निष्कासनको पाँच प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र जारी पुँजी २६ करोडको ०.५ प्रतिशत अर्थात् १३ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने ७ लाख ९५ हजार ५०० कित्ता खरिदका लागि सर्वसाधारणले आगामी फागुन ४ गतेदेखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।
सर्वसाधारणले फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् र सो अवधिसम्म माग गरिए बमोजिम आवेदन नआए आगामी फागुन १८ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्बा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको पुँजी संरचनामा अधिकृत पुँजी ५० करोड र हालको जारी पुँजी २६ करोड तथा चुक्तापुँजी १७ करोड ५० लाख रुपैयाँ छ । विवरणपत्रमार्फत सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण सेयरको बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी २६ करोड पुग्नेछ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बिबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।









