काठमाडौं– विदेशी विनिमय सञ्चितिमा चाप परेपछि नेपाल राष्ट्र बैंकले थप ४७ प्रकारका वस्तुको आयातमा कडाइ गरेको छ ।
उसले गत पुस ५ गते पनि १८ प्रकारका वस्तुको आयातमा कडाइ गरेको थियो । केन्द्रीय बैंकले बुधबार एक सूचना जारी गरी थप ४७ वटा हार्मोनिक कोड अन्तर्गतका वस्तु आयातमा कडाइ गरेको हो ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले विदेशी विनिमय सञ्चितिमा चाप परेपछि यस्तो कदम चालेको बताएका छन् । पछिल्लो समय विदेशी विनिमय सञ्चिति निकै घटेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु वर्षको पहिलो ६ महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार मुलुकमा ६।६ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा मात्र बाँकी छ ।
राष्ट्र बैंकका अनुसार अब आयातकर्ताले थप ४७ प्रकारका वस्तु आयात गर्न एलसी खोल्दा नगद नगद मार्जिन राख्नु पर्नेछ । थप भएकामध्ये चार प्रकारका वस्तुमा ५० प्रतिशत र बाँकी ४३ प्रकारका वस्तुमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरिएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
उद्योगले आफ्नै प्रयोजनको लागि गर्ने आयातमा भने मार्जिनको नियम लागू नहुने राष्ट्र बैंकको भनाइ छ ।











