काठमाडौं– सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले दूधको मूल्य बढाएको छ ।
गोरखापत्र दैनिकमा बिहीबार छापिएको समाचार अनुसार संस्थानले उपभोक्ताले प्रतिलिटर ८५ रुपैयाँ तिर्नुपर्ने गरी दूधको नयाँ मूल्य निर्धारण गरेको हो । यो साबिकको मूल्यको तुलनामा प्रतिलिटर ९ रुपैयाँ बढी हो ।
अहिले प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ छ । बढेको ९ रुपैयाँमा ६ रुपैयाँ ५२ पैसा किसानको हातमा पुग्छ भने बाँकी २ रुपैयाँ ४८ पैसा डेरी उद्योगले पाउनेछ ।
बुधबार सम्पन्न डिडिसी सञ्चालक समिति बैठकले नयाँ मूल्य तोकेको हो । यसअघि मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको थियो । सोमध्ये प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानले र बाँकी डेरी उद्योगले पाउने मन्त्रिपरिषद्को निर्णय थियो ।
मन्त्रिपरिषद्को निर्णयपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रशोधित दूधको मूल्य तोक्ने जिम्मा डिडिसीलाई दिएको थियो । अब निजी डेरी उद्योगले दूधको नयाँ मूल्य तोक्नेछन् ।









