काठमाडौं– राष्ट्रिय गौरवका आयोजनामा विनियोजन गरिएकोभन्दा असाध्यै कम मात्रै बजेट खर्च भएको पाइएको छ । अर्थ मन्त्रालयले गरेको चालु आर्थिक वर्ष २०७८–०७९ को अर्थवार्षिक समीक्षामा गौरवअन्तर्गत सञ्चालित परियोजनाकोे खर्च न्यून भएको पाइएको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि २५ वटा आयोजनालाई गौरवका आयोजनामा समावेश गरेको थियो । ती योजनाका लागि ८२ अर्ब २४ करोडभन्दा बढी बजेट विनियोजन गरिएको थियो । विनियोजित बजेटमध्ये चालु आवको पहिलो ६ महिनामा १६.३९ प्रतिशत मात्र खर्च भएको हो ।

तथ्यांकअनुसार राष्ट्रिय गौरवका आयोजनाका लागि चालुतर्फ ३ अर्ब ३८ करोड ४६ लाख, पुँजीगततर्फ ६६ अर्ब ४७ करोड र वित्तीय व्यवस्थापनतर्फ १२ अर्ब ३८ करोड ४६ लाख गरी ८२ अर्ब २४ करोड ४४ लाख बजेट विनियोजन गरिएको थियो । विनियोजन गरिएको उक्त बजेटमध्ये चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चालुतर्फ १ अर्ब ३६ करोड ८० लाख, पुँजीगततर्फ ११ अर्ब ६३ करोड ६ लाख र वित्तीय व्यवस्थापनतर्फ ४८ अर्ब ५० लाख गरी रु १३ अर्ब ४८ करोड ३६ लाख खर्च भएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनामा २४.१ प्रतिशत बजेट खर्च भएको छ । सो आयोजनाका लागि ८ अर्ब १३ करोड ३३ लाख बजेट विनियोजन गरिएकोमा ६ महिनामा १ अर्ब ९६ करोड ४६ लाखमात्र बजेट खर्च भएको छ । हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड ४२ लाख बजेट विनियोजन भएकोमा हालसम्म २ अर्ब ४४ करोड ९९ लाख खर्च भएको छ ।

उत्तर–दक्षिण लोकमार्गका लागि १ अर्ब ११ करोड १४ लाख बजेट विनियोजन भएकोमा १५ करोड ९० लाख, उत्तर–दक्षिण लोकमार्ग (कालीगण्डकी करिडोर मालढुंगा–राम्दी) परियोजनाका लागि २ अर्ब ४२ करोड ५५ लाख बजेट विनियोजन गरिएकोमा ७७ करोड ७२ लाख र उत्तर–दक्षिण लोकमार्गका लागि ५८ करोड ८९ लाख बजेटमध्ये ५ करोड २६ लाख मात्र खर्च भएको छ ।

यसैगरी रेल, मेट्रो रेल तथा मनोरेल विकास आयोजनाको ६ अर्ब ५३ करोड २५ लाखमध्ये ९५ करोड ६२ लाख, काठमाडौं तराई÷मधेश द्रुत मार्गको ८ अर्ब ९२ करोड ७९ लाखमध्ये १ अर्ब ४० करोड ८४ लाख, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी रसुवागढी सडक आयोजनाको १ अर्ब ६२ करोड १७ लाखमध्ये ८२ करोड ५९ लाख खर्च भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि छुट्ट्याएको ३ अर्ब ७२ करोड ८० लाखमध्ये १८ करोड ५० लाख खर्च भएको छ । यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि १३ अर्ब ४१ करोड २९ लाख विनियोजन गरिएकोमा ८ अर्ब ५० करोड खर्च भएको छ । यस्तै पशुपति क्षेत्र विकास कोषका लागि विनियोजित ३५ करोडमा ८ करोड ५१ लाख, बूढीगण्डकी जलविद्युत् आयोजनाको ७ अर्ब ९९ करोड ५८ लाखमा १८ करोेड ६५ लाख खर्च भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय