काठमाडौं– मुलुकको नेतृत्वदायी जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले अग्रिम भुक्तानी तथा आजीवन विशेषता समाहित जीवन बिमा योजना ‘नेपाल लाइफ सदावहार जीवन बिमा योजना’ सार्वजनिक गरेको छ ।
आफूले गरेको लगानीको प्रतिफल कम समयमा प्राप्त गरी जिन्दगीभर ढुक्क रहने सेवाग्राहीको चाहना अनुसार यो जीवन बिमा योजना अघि सारेको कम्पनीले जनाएको छ । प्रत्येक वर्ष बिमांकको ५ प्रतिशतका दरले हुन आउने रकम बिमालेखको वार्षिकोत्सवमा भुक्तानी गर्नुको साथै आजीवन जोखिम बहन गर्नु र बिमा अवधिपश्चात पनि समर्पण मूल्य प्राप्त गर्नु, यस योजनाको मुख्य विशेषता हो ।
यो जीवन बिमा योजनाका लागि न्यूनतम बिमांक रकम २ लाख रूपैयाँ कायम गरिएको छ । तर सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बिमांक रकम राखेर सहभागी बन्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
यो बिमा पोलिसी खरिदका लागि न्यूनतम उमेर ११ वर्ष र अधिकतम उमेर ६५ वर्ष तोकिएको छ । साथै, यसमा ऐच्छिक सुविधा प्रवेश उमेरको व्यवस्था पनि गरिएको छ । यसमा दुर्घटना मृत्यु लाभ, बिमाशुल्क छुट सुविधा र अशक्त सुविधा लिनका लागि १६ वर्ष र घातक रोग सुविधा लिनका लागि १८ वर्ष उमेर तोकिएको छ ।
बिमा शुल्क भुक्तानी अवधि न्यूनतम ५ वर्ष र अधिकतम २० वर्ष रहेको यो योजनाको बिमा शुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष रहेको छ । त्यस्तै, बिमाशुल्क भुक्तानी एकल, वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक र मासिक तरिकाले गर्न सकिने कम्पनीले बताएको छ ।
बिमालेख चालु भएको अवस्थामा बिमाशुल्क भुक्तानी अवधिभित्र बिमितको मृत्यु भएमा बिमालेख अन्तर्गत पूरा बिमांक रकम र नियमानुसारको बोनस रकम इच्छाएको व्यक्ति वा कानुनी हकवालालाई एकमुष्ठ प्रदान गरिने कम्पनीको विज्ञप्तिमा उन्लेख छ । यसमा बिमितलाई प्रत्येक वर्ष ५ प्रतिशतका दरले आशिंक भुक्तानी गरेको रकम कट्टा नगरिने बताइएको छ ।
एकल बिमाशुल्क योजनामा बिमाशुल्क भुक्तानी अवधिभित्र बिमितको मृत्यु भएमा बिमांक रकम र आर्जित बोनस वा एकल बिमाशुल्क रकममध्ये बढी हुने रकम बिमितले इच्छाएको व्यक्तिलाई भुक्तानी गरिन्छ । साथै सबै किस्ता बिमाशुल्क भुक्तानी गरेको बिमालेखमा बिमा अवधि समाप्तिपश्चात् जीवनभर कुनै पनि समयमा बिमितको मृत्यु भएमा पुनः बिमांक बराबरको रकम प्रदान गरिनेछ ।
९० प्रतिशतसम्म कर्जाको सुविधा
यस योजनामा बिमा प्रारम्भ भएको मितिले वार्षिक ३ किस्ता बिमाशुल्क भुक्तान गर्नुका साथै ३ वर्ष पूरा भएपश्चात बिमालेखको चुक्ता मूल्य तथा समर्पण मूल्य प्राप्त हुनेछ । बिमा अवधि समाप्तिपश्चात पनि बिमितले चाहेमा समर्पण गर्न पाउनु यो जीवन बिमा योजनाको मुख्य विशेषता हो । साथै, एकल बिमाशुल्क योजनामा बिमा प्रारम्भ भएको मितिले १३औं महिनादेखि बिमालेखको समर्पण मूल्य प्राप्त हुनेछ । समर्पण मूल्य प्राप्त भएको बिमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने बताइएको छ ।









