काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले बैंक, वित्तीय संस्थाले निक्षेपमा ब्याज बढाउन गरेको निर्णय स्थगन गर्न आग्रह गरेको छ ।
महासंघले विज्ञप्ति जारी गरी कोभिडका कारण साना ठूला सबै प्रकारका उद्योग, व्यवसाय अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै यस्तो बेला बैंकिङ क्षेत्रबाट उद्योग, व्यवसायलाई पूर्ण रुपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भइरहेकोमा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग, व्यवसाय क्षेत्र थप सशंकित भएको उल्लेख छ ।
‘बैंकिङ क्षेत्रबाट विगतमा भएका सकारात्मक पहलको निजी क्षेत्रले सदैव स्वागत गरेकै हो,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग, व्यवसाय क्षेत्र र उद्योगी, व्यवसायीले लिएको ऋणको ब्याज दर पुनः बढेमा यो क्षेत्र थप धराशयी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सिर्जना हुने हो कि भन्नेमा निजी क्षेत्रको चिन्ता छ ।’
हरेक त्रैमासमा निक्षेपमा ब्याज दर वृद्धि हुँदै जाने प्रथा कायम हुने हो भने मुलुुकभित्र उद्योग, व्यवसाय गर्न सम्भव नहुने महासंघको भनाइ छ । ब्याज दरमा अस्थिरता कायम रहँदा मुलुकमा व्यावसायिक लागत प्रक्षेपण गर्न सक्ने अवस्था समेत नहुने विज्ञप्तिमा जनाइएको छ ।
विगतका अनुभवले ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुने देखिएको बरु उद्योग, व्यवसाय क्षेत्र चौतर्फी दबाबमा पर्ने हुँदा यसको प्रत्यक्ष असर मुुलुकको उत्पादन र अर्थतन्त्रमा पर्ने महासंघले जनाएको छ ।









