दमक– झापाको दमक–८ स्थित त्रिगंगा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख रुपैयाँ बढी रकम लिएर ३ महिनादेखि फरार रहेका खुलासा भएको छ । दमक–८ का ५२ वर्षीय खनाल गत मंसिरदेखि नै सहकारीसहित विभिन्न ७ व्यक्तिको ८० लाखभन्दा बढी ऋण रकम लिएर फरार भएका हुन् ।
उनी गत मंसिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकामा हालसम्म सम्पर्कमा नआएको व्यवस्थापक ललिता तामाङले बताइन् ।
अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि सम्पर्कविहीन भएको व्यवस्थापक तामाङसहित कर्मचारी तथा बचकर्ताको एक समूहले सोबारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९ गते लिखित रूपमा जानकारी गराएका थिए । अध्यक्ष बेपत्ता भएपछि दमक–७ मा रहेको सहकारीको कार्यालय गत मंसिर २९ गतेदेखि नै बन्द छ ।
पीडितले दिएको निवेदनमा उल्लेख गरिएअनुसार सहकारीको २५ लाख ७० हजार १३३ सहित दमक–८ का ज्ञानेन्द्र श्रेष्ठको २१ लाख, दमक–५ का राजु गौतमको ४ लाख, दमक–९ का टेकबहादुर योञ्जनको ८ लाख, दमक–९ का रामकुमारी श्रेष्ठको १२ लाख, दमक–६ का डिल्लीराम प्रसाईँको २ लाख, कमल गाउँपालिका–४ का गौरी राईको र्२ लाख र कमल–४ कै दुरेन्द्रबहादुर नेम्वाङको ६ लाख सापटी रकम लिएर खनाल फरार भएका हुन् ।
सहकारीको ठगी विषयमा उजुरी गरिए पनि अहिलेसम्म नगरपालिका र स्थानीय प्रशासनले सो विषयमा पहल नगरेपछि घटना बाहिर ल्याउनुपरेको पीडित कमल–४ का दुरेन्द्र नेम्वाङले बताए ।









