वीरगन्ज– देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७–७८ को पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८–७९ को सोही अवधिमा ३३ अर्ब ४८ करोड २९ लाख बढी मूल्यको १० लाख सात हजार ६९० लिटर इन्धन बढी आयात भएको हो ।

पेट्रोलियम पर्दाथ अन्तर्गत डिजल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन लगायत पर्छन् । आर्थिक वर्ष २०७७–८७ को साउनदेखि पुससम्मको ६ महिनामा वीरगन्ज नाका प्रयोग गरी ३१ अर्ब ८९ कराड २१ लाख मूल्यको ७ लाख ८३५ लिटर इन्धन आयात भएको तुलनामा चालू आवको सोही अवधिमा ६५ अर्ब ३७ करोड ५१ लाख मूल्य बराबरको १७ लाख आठ हजार ५२५े लिटर डिजल पेट्रोल, मट्टीतेल तथा हवाई इन्धन आयात भएको छ ।

यो समीक्षा अवधिको तुलनामा १०५ प्रतिशत बढी मूल्यको १४४ प्रतिशत इन्धन आयात भएको हो । कोरोना संक्रमणका कारण गत वर्ष उद्योग, व्यापार, यातायात, विकास निर्माण कार्य प्रभावित भएका कारण इन्धनको आयातमा कमी आएको थियो । चालु आवको पहिलो ६ महिनामा कोरोनाको प्रभाव खासै यी क्षेत्रमा नदेखिएका आयात वृद्धि भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

उनले गत आवको पहिलो ६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा डिजल २२ प्रतिशत, पेट्रोल २५ प्रतिशत, हवाई इन्धन ३ हजार २८८ प्रतिशत, खाना पकाउने ग्याँस १५ प्रतिशत बढी अयात भएको र मट्टीतेलको आयात ४० प्रतिशत कम भएको बताए ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगन्ज नाकाबाट २३ अर्ब १० करोड ३४ लाखको ५ लाख ४ हजार ४१७ किलोलिटर डिजल, ७ अर्ब ४८ करोड २१ लाखको १ लाख ६४ हजार १६६ किलोलिटर पेट्रोल, १ अर्ब ५ करोड ९८ लाखको २६ हजार ११२ किलोलिटर हवाई इन्धन र २४ करोड ६६ लाखको ६ हजार १४० किलोलिटर मट्टीतेल आयात भएको थियो ।

चालु आवको सोही अवधिमा ४४ अर्ब ४१ करोड ८१ लाखको ६ लाख १४ हजार ३४८ किलोलिटर डिजल, १६ अर्ब १२ करोड ९ लाखको २ लाख ५ हजार २५२ किलोलिटर पेट्रोल, ४ अर्ब ४३ करोड २३ लाखको ८ लाख ८४ हजार ७६४ किलोलिटर हवाई इन्धन र ३४ करोड ३७ लाखको ४ हजार १६० किलोलिटर मट्टीतेल आयात भएको सूचना अधिकारी गुप्ताले जानकारी दिए ।

उनले गत वर्ष इन्धन आयातबाट २४ अर्ब ९७ करोड ७८ लाख राजस्व संकलन भएको थियो भने चालु आवको ६ महिनामा ३३ अर्ब ४९ करोड ७६ लाख संकलन भएको बताए । यो नाका प्रयोग गरी खाना पकाउने एलपी ग्यासको आयात १५ प्रतिशत बढी भएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ७ अर्ब ४९ करोड ४८ लाख मूल्यको १ लाख १९ हजार ७०० मेट्रिक टनको तुलनामा चालु आवको सोही अवधिमा १५ अर्ब २५ करोड ६३ लाखको १ लाख ३७ हजार ३७३ मेट्रिक टन ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय