काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्य १२०० रुपैयाँले बढेको छ । योसँगै छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७०० पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघले मंगलबारका लागि उक्त मूल्य तोकेको हो । आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५०० मा कारोबार भएको थियो । सोमबार भने सुनको मूल्यमा कुनै हेरफेर भएन ।
महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला ९५ हजार तोकिएको थियो । त्यस्तै मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर १ हजार ३२० पुगेको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १ हजार ८७८ डलर आसपास कारोबार भइरहेको छ ।









