काठमाडौं– अघिल्लो वर्षका तुलनामा गत माघ मसान्तसम्म देशभर घर–जग्गाको कारोबारबाट उठ्ने राजस्व एक अर्ब २३ करोड नौ लाख ३० हजार ४४३ ले घटेको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार २०७७ को माघमा घर–जग्गा कारोबारबाट ६ अर्ब ७३ करोड २७ लाख ८० हजार ८७७ रुपैयाँ राजस्व संकलन भएको थियो । विभागका अनुसार गत माघ मसान्तसम्म ५ अर्ब ५० करोड १८ लाख ५० हजार ४३४ बराबर राजस्व संकलन भएको छ ।

बैंक तथा वित्तीय संस्थामा तरलताको अभावका कारण घर–जग्गा कारोबारमा मन्दी आएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सिबिफिनले पनि घर–जग्गामा भएको लगानीलाई अनुत्पादक क्षेत्रको रुपमा टिप्पणी गरेको छ ।

यस्तै, नेपाल राष्ट्र बैंकले पनि केही समयपहिले घर जग्गाको कारोबारबारे छुट्टै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । विभागका अनुसार देशभर रहेका कुल १२६ मालपोतमध्ये काठमाडौं उपत्यकामा रहेका ९ वटा मालपोत कार्यालयमा हुने घर–जग्गाको कारोबारसम्बन्धी विवरण धेरै छ ।

गत माघमा देशभर भएका घर–जग्गा कारोबारबाट मात्रै १ अर्ब २६ करोड ५८ लाख ४४ हजार १३४ बराबरको लाभकर उठेको छ । विभागका अनुसार २०७७ माघमा त्यस्तो कर १ अर्ब ७० करोड ८४ लाख ४० हजार २७४ उठेको थियो । लाभकरसमेत घटेकाले कारोबारमा कमी आएको देखिन्छ ।

यस्तै, मालपोत कार्यालयले गत माघमा २० करोड १७ लाख ६६ हजार ४८ बराबरको सेवा कर उठाएको छ । त्यस्तो कर २०७७ माघमा ३९ करोड ४३ लाख ९२ हजार ४०६ बराबर उठाएको थियो । रजिस्ट्रेसन दस्तुरबाट गत माघमा ३ अर्ब ३१ करोड ८९ लाख ५० हजार ८१७ बराबरको राजस्व उठाएको विभागले २०७७ माघमा ३ अर्ब ७६ करोड ८८ लाख ३१ हजार ९७० बराबरको राजस्व उठाएको थियो ।

काठमाडौं उपत्यकाका ९ मालपोत कार्यालयको विवरणमा पनि डिल्लीबजार मालपोत कार्यालयको मात्रै राजस्व संकलनमा वृद्धि भएको छ । डिल्लीबजार मालपोत कार्यालयले २०७७ माघमा ३८ करोड ८४ लाख ७७ हजार ५८७ बराबरको राजस्व संकलन गरेको थियो । गत माघमा सो कार्यालयले ४३ करोड ८६ लाख ७६ हजार ५३९ बराबरको राजस्व संकलन गरेको विवरणमा उल्लेख छ ।

चाबहिल मालपोत कार्यालयले २०७७ माघमा ३३ करोड ७९ लाख ३४ हजार ५३९ बराबरको राजस्व संकलन गरेकामा २०७८ को माघमा २९ करोड १८ लाख ९ हजार ५७६ मात्रै संकलन भएको छ ।

कलंकी मालपोत कार्यालयले २०७७ माघमा ४३ करोड ७६ लाख ६६ हजार ४८६ राजस्व संकलन गरेकामा गत माघमा ३९ करोड १३ लाख ८७ हजार ९९३ संकलन गरेको छ । साँखु मालपोत कार्यालयले २०७७ माघमा १३ करोड ३८ लाख ४० हजार ५८८ बराबरको राजस्व संकलन गरेकामा गत माघमा १४ करोड ३४ लाख ४२ हजार ४४४ संकलन गरेको छ ।

मनमैजु मालपोत कार्यालयले २०७७ माघमा १४ करोड ३२ लाख ७ हजार ९०१ बराबरको राजस्व संकलन गरेकामा यस वर्षको माघमा ११ करोड ४२ लाख ८३ हजार ३०४ बराबरको आम्दानी गरेको छ । टोखा मालपोत कार्यालयले २०७७ माघमा १२ करोड ३३ लाख ७३ हजार २३६ राजस्व संकलन गरेकामा यस वर्षको माघमा ९ करोड ४१ लाख २४ हजार ३५९ बराबर राजस्व संकलन गरेको छ ।

ललितपुरमा दुईवटा मालपोत कार्यालय छन् । त्यसमा लगनखेल र गोटीखेल मालपोत कार्यालयले संकलन गर्ने राजस्व समेत घटेको छ । लगनखेल मालपोत कार्यालयले २०७७ माघमा ६४ करोड ११ लाख ७५ हजार १८६ राजस्व संकलन गर्दा गत माघमा घटेर ५४ करोड ३६ लाख ६० हजार ६८९ मा सीमित भएको छ ।

गोटीखेल मालपोत कार्यालयले २०७७ माघमा १३ लाख २२ हजार ४१४ बराबरको राजस्व संकलन गर्दा गत माघमा घटेर १० लाख ३ हजार ५६३ मा सीमित भएको छ । भक्तपुर मालपोतको पनि राजस्व संकलनमा गिरावट आएको छ । यसबाट घर–जग्गा कारोबारमा कमी आएको स्पष्ट देखिएको सो कार्यालयको भनाइ छ ।

विवरण अनुसार २०७७ माघमा ४१ करोड २३ लाख ४२ हजार ९६१ राजस्व संकलन गरेको झक्तपुर मालपोत कार्यालयले गत माघमा ३४ करोड ४५ लाख ४३ हजार ९१२ मात्रै संकलन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठका अनुसार जग्गा प्रशासन सेवालाई सरल, सहज र पारदर्शी बनाउन देशभरका मालपोत कार्यालयमा भूमिसम्बन्धी सूचना तथा व्यवस्थापन प्रणालीमार्फत आधुनिक अनलाइन पद्धतिबाट सेवा प्रदान गरिएकाले राजस्व संकलन थप पारदर्शी बन्न थालेको छ ।

सेवाग्राहीले जुनसुकै स्थानबाट अनलाइन प्रविधिमार्फत जग्गा कारोबारको लिखतसम्बन्धी कार्य गर्न सक्ने गरी हाल ७४ वटा मालपोत कार्यालयमा ‘पब्लिक एक्सेस मोडल (पाम)’ लागू गरिएको छ । सो प्रणालीको प्रयोग गरेर बंैक, वित्तीय संस्था र कर्मचारी सञ्चय कोषले मालपोत कार्यालयमा नगइकन नै जग्गाका रोक्का, फुकुवा गर्न सक्छन् । कर्मचारी सञ्चय कोष र मालपोत कार्यालय कलंकी र ललितपुरमा परीक्षणको रुपमा सो सेवा लागू गरिएको र अन्य कार्यालयमा समेत लागू गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय