काठमाडौं– अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताको लागि खल्ती डिजिटल वालेट प्रयोग गरी ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ ।
आफ्नो ब्लुबुकको शुल्क अनलाइनबाट बेलैमा तिर्न मिल्ने गरी खल्तीले आफ्नो एपमार्फत यो सेवा प्रदान गर्न सुरु गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताले उक्त सेवा प्रयोग गर्न सक्ने र भविष्यमै देशभर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
प्रयोगकर्ताले भुक्तानी गर्नुपूर्व आफ्नो सवारीको सम्पूर्ण विवरण अनलाइन भेहिकल रजिस्ट्रेसन सिस्टम (भिआरएस) मा दर्ता गर्नुपर्ने बताइएको छ । यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणाली (टिएमआइएस) को वेबसाइट मार्फत सहजै गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ ।
एकपटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताले खल्ती एपभित्र भएको गभरमेन्ट सर्विसेसमा रहेको ब्लुबुक रिन्यूमा ट्याप गर्नुपर्ने र आवश्यक विवरणहरू भरेर भुक्तानी प्रक्रियामा अघि बढ्न सकिने बताइएको छ ।
नयाँ प्रयोगकर्ता या पहिलोपटक यो सेवा प्रयोग गर्ने व्यक्तिलाई अन्योल नहोस् भनेर स्याम्पल बिल पनि उपलब्ध एप मै उपलब्ध गराइएको खल्तीले जनाएको छ । भुक्तानी गर्नासाथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै खल्तीमा प्राप्त हुने र भिआरएसद्वारा उपलव्ध गराइने बिल प्रयोगकर्ताले १० मिनेटमा खल्तीबाटै प्राप्त गर्नेछन् ।
खल्ती होमपेजको ट्रान्ज्याक्सनमा गई दुवै बिल प्राप्त गर्न सकिन्छ । थप प्रक्रियाको लागि ३० दिनभित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेस गर्नुपर्ने बताइएको छ ।









