काठमाडौं– सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले हमाललाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो ।
नियुक्तिपछि सरकारी समाचार संस्था रासससँगको कुराकानीमा हमालले नियुक्तिको बारेमा अनौपचारिक रूपमा जानकारी आएको र शुक्रबारसम्म नियुक्तिपत्र समेत पाउने बताए ।
उनले नेपालको सेयर बजारको विकास र विस्तारमा आफूले इमान्दार प्रयास गर्ने बताए । साना लगानीकर्ताको हित र बजारको विविधीकरण गर्न आफूले सक्दो प्रयास गर्ने उनले प्रतिबद्धता जनाए ।
नेपालको सेयर बजारलाई बलियो र सक्षम बनाउँदै अन्तर्राष्ट्रिय स्तरको बनाउने आफ्नो सपना रहेको भन्दै उनले त्यसका लागि सहयोग गर्न सञ्चार माध्यमलाई आग्रह गरे ।
सामान्य झट्काले समेत प्रभाव पार्ने सेयर बजारलाई व्यवस्थित एवं मर्यादित बनाउने र प्राकृतिक रूपमा चल्ने बनाउन प्रयास गर्ने नवनियुक्त अध्यक्ष हमालले बताए । बजारको विविधीकरण नहुँदासम्म सेयर बजारले स्थायित्व पाउन नसक्ने भएकाले सो कार्यमा आफू दत्तचित्त भएर लाग्ने उनको भनाइ छ ।
बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्ट कम्पनीको सेयर प्रकरणमा मुछिएपछि सरकारले उनलाई हटाएको थियो । पछिल्लो ६ महिनादेखि बोर्डको अध्यक्ष खाली थियो । अध्यक्ष नियुक्त नहुँदा सेयर बजारसम्बन्धी विभिन्न विषयगत र नीतिगत काममा अवरोध भइरहेको थियो ।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा बोर्ड अध्यक्ष छनोट समिति गठन गरेको थियो । समितिले अध्यक्षमा तीनजनाको नाम प्रस्ताव गरेको थियो । त्यसमा गोपाल भट्ट, कृष्ण पोखरेल र हमालको नाम थियो ।
डोटीको सिलगढीमा जन्मेका हमालले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी बैंककबाट एमबिए गरेका छन् । झण्डै २९ वर्षदेखि सार्वजनिक तथा निजी क्षेत्रमा सेवा गरेका हमालले २० वर्ष व्यवस्थापन क्षेत्रमा काम गरेका छन् । सन् २००७ देखि सन् २०१० सम्म गैरआवासीय नेपाली संघ थाइल्यान्डको अध्यक्ष रहेका हमाल थाई–नेपाल चेम्बर अफ कमर्स बैंककको उपाध्यक्षसमेत बनेका थिए ।
उनले काभ्रेपलाञ्चोकको धुलिखेलमा अन्तर्राष्ट्रिय स्तरको चेन होटल ‘दुषित थानी’को निर्माण गरिरहेका छन् । सो होटलको ९० प्रतिशत निर्माण सम्पन्न भएको र आगामी चार महिनाभित्र सञ्चालनमा आउनेछ ।
आफूले जानेको तथा सिकेको ज्ञान ताथ अनुभव नेपालमा नै प्रयोग गरौं भन्ने उद्देश्यका साथ आफू नेपाल फर्किएको उनले रासससँगको कुराकानीमा बताए । उनले सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।









