दाङ– घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको छ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको छ ।
प्लान्ट व्यवस्थापक हरिशरण श्रेष्ठका अनुसार अहिले फोहर कम राखिएकोले ग्यास उत्पादन कम छ । ‘केही समयपछि फोहर धेरै राखेर उत्पादन वृद्धि गरिनेछ,’ उनले भने ।
प्लान्टमा उपमहानगरपालिकाले उठाउने फोहर मात्र प्रयोग गरिएको छ । उनका अनुसार उत्पादित ग्यास पाइप लाइनमार्फत घरघरसम्म पुर्याउने योजना छ ।
यसका लागि पाइप विस्तारको काम सुरु गरिने छ । ‘हामीलाई आवश्यक पर्ने एनडिपी पाइप हो, यो अर्डर दिएपछि मात्र निर्माण गरिने भएकाले ढिला भएको हो,’ उनले भने ।
पाइपमार्फत ग्यास प्रयोग गरेबापत उपभोक्ताले मिटरअनुसार रकम तिर्नुपर्नेछ । कोरोना संक्रमणका कारण निर्माण कार्य केही ढिला भएको जनाइएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रालि र उपमहानगरपालिकाबीचको त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको व्यवस्थापक श्रेष्ठले बताए ।
पहिलो चरणमा ४५० घरधुरीमा पुर्याउने उद्देश्यले सर्भे गरिएको छ । पछि विस्तार गरिने छ । सुरुमा वरिपरिका स्थानीयलाई ग्यास वितरण गरिने छ । सफल भएमा उपमहानगरभित्रका सहरमा विस्तार गरिनेछ ।
त्रिपक्षीय सम्झौता २०७५ मङ्सिर ५ गते भएको थियो । ग्यास उत्पादन गर्न पहिले करिब २० करोड लगानी लाग्ने भनिएकोमा पाइपमार्फत घरघरसम्म ग्यास पुर्याउनुपर्ने भएपछि करिब २२ करोड लाग्ने उनले बताए । यो रकम घरघरसम्म ग्यास पाइपमार्फत पुर्याउँदा खर्च हुनेछ । फोहरबाट ग्यास उत्पादनका लागि केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत कम्पनी आफैंले बेहोर्ने सहमति भएको छ ।
संरचना निर्माणका लागि नगरपालिकाले करिब तीन बिघा जग्गा उपलब्ध गराएको छ । उक्त ग्यास प्लान्ट दुई हजार घनमिटरमा छ । फोहरबाट ग्याससँगै कम्पोस्ट मलसमेत उत्पादन गरिने उनले बताए । कम्पनी र उपमहानगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ ।
सम्झौता अनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई पाँच प्रतिशत रकम दिने सहमति भएको छ ।
उपमहानगर प्रमुख नरुलाल चौधरी भन्छन्, ‘नगरपालिका र कम्पनीबीच २० वर्षको सम्झौता भएको छ, त्यसपछि सबै नगरपालिकालाई हस्तान्तरण हुनेछ । यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र उपमहानगरपालिकाको आम्दानीको स्रोतमा वृद्धि गर्ने लक्ष्य छ ।’ ग्याससँगै कम्पोस्ट मल उत्पादन गर्ने र फोहर व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको उनले बताए ।









