काठमाडौं– नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।
कम्पनीले निष्कासन गरेको साधारण सेयरमा कुल निष्कासनको ५ प्रतिशत (४१ हजार ४३७ कित्ता) सामूहिक लगानी कोषलाई बाँडफाँड गरी जारी पुँजी २५ करोड ५० लाख ०.५ प्रतिशत (१२ हजार ७५० कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरेपश्चात बाँकी रहने ७ लाख ७४ हजार ५६३ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।
सर्वसाधारणले फागुन १५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिए बमोजिम आवेदन नआए आगामी फागुन २५ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
अधिकृत पुाजी ५० करोड र हालको जारी पुँजी २५ करोड ५० लाख तथा चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रहेको कम्पनीले सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण सेयरको बाँडफाँड पश्चात यसको चुक्ता पुँजी २५ करोड ५० लाख पुग्नेछ ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था अनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आई आर बिबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।









