काठमाडौं– संसारकै दोस्रो ठूलो तेल निर्यातकर्ता मुलुक रुस र युक्रेनबीचको बढ्दो तनावले छिमेकी मुलुक भारतमा तेलको मूल्य प्रतिलिटर ७ देखि ८ भारु (नेपाली रुपैयाँ १२ देखि १३) ले बढ्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
नेपालले पनि इन्डियन आयल कर्पोरेसन (आइओसी) बाटै तेल खरिद गर्ने हुँदा त्यसको असर नेपालमा पर्ने निश्चित छ । नेपाल आयल निगमले थप घाटा नबेहोर्ने हो भने अबको केही दिनमै नेपाली उपभोक्ताले पेट्रोल, डिजेल, मट्टीतेल जस्ता इन्धनमा थप मूल्य तिर्नुपर्नेछ ।
उसो त पछिल्लो समय ती इन्धनको मूल्य निरन्तर बढेर पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ पुगिसकेको छ ।
रुस र युक्रेनबीच तनाव बढ्न थालेसँगै कच्चा तेलको मूल्य बढ्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा ग्लोबल बेन्चमार्क क्रुड ब्रेन्टको प्रतिब्यारेल मूल्य १०० अमेरिकी डलर पुग्ने तरखरमा छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड प्रतिब्यारेल ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । ९८ डलर कच्चा तेलको सात वर्षयताकै उच्च मूल्य हो ।
नेपाललाई पेट्रोल, मट्टीतेल, डिजेल, हवाई जहाजको तेल (एटिआर) आपूर्ति गर्ने भारतले इन्धन उत्पादनका क्रममा मिसाउनका लागि किन्ने ब्रेन्टको मूल्य बढेसँगै नेपाल र भारत दुवै मुलुकमा तेलको मूल्य बढ्ने अनुमान गरिएको हो । कच्चा तेलको मूल्य गत नोभेम्बरयता प्रतिब्यारेल १० अमेरिकी डलर वृद्धि भइसकेको छ ।
कच्चा तेलको मूल्यमा प्रतिब्यारेल १ अमेरिकी डलर वृद्धि हुँदा भारतीय बजारको खुद्रा मूल्य भारतीय मुद्रा ७० देखि ८० पैसाले वृद्धि हुन्छ । यो भनेको नेपाली रुपैयाँ १ रुपैयाँ २५ पैसा हाराहारी हुन्छ ।









