विराटनगर– नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस) को नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा औपचारिक थालनी भएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त मेसिनको ‘स्वीच अन’ गरेर यसको शुभारम्भ गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बिएसबिएस मेसिनको प्रयोगमार्फत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको हो ।

सो अवसरमा गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा बिएसबिएसको सुरुआत एउटा महत्त्वपूर्ण उपलब्धि रहेको बताए । बिएसबिएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको उनले जानकारी दिए ।

साथै बिएसबिएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारीसमेत गभर्नर अधिकारीले दिएका छन् ।

कार्यक्रममा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अयोग्य नोट धुल्याउन बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे चर्चा गर्दै बिएसबिएसको सञ्चालन प्रक्रियाबारे जानकारी दिए । सो अवसरमा कोष तथा लेखा नियन्त्रकको कार्यालय, मोरङका प्रमुख परशुराम नेपालले बिएसबिएसको प्रयोगले नोट धुल्याउने पद्धतिलाई आधुनिक बनाएको धारणा राखे ।

नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका निर्देशक मीना पाण्डेको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

बिएसबिएस मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्य्राएर ब्रिकेट तयार गर्दछ । उक्त मेसिनमा दुईवटा खन्ड रहन्छन् । पहिलो खण्डले नोटलाई टुक्य्राउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्य्राइएको नोटबाट ब्रिकेट तयार गर्छ ।

उक्त मेसिनमा एकपटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिन्छ र मेसिनले प्रतिघन्टा १०० केजी नोट टुक्य्राउने क्षमता राख्छ । यस्तो टुक्राको औसत आकार ६x६ मिलिमिटर हुनेछ । यसरी टुक्य्राइएको नोटलाई प्रतिघन्टा २०० केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ ।

बिएसबिएस मेसिनलाई प्रतिवर्ष एक हजार घन्टासम्म सञ्चालन गर्न सकिनेछ । यस्तो ब्रिकेट इँटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा समेत उपयोगी हुने विश्वास लिइएको छ ।

थापाथलीस्थित बैंकको निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने बैंकको योजना छ । यी मेसिनहरू नेदरल्यान्डबाट आयात गरिएको केन्द्रीय बैंकले जनाएको हो ।

बिएसबिएसमार्फत नोट धुल्याउने पद्धतिलाई नीतिगत रूपमा व्यवस्थित गर्ने गरी नोट धुल्याउनेसम्बन्धी प्रचलित नियमावलीमा आवश्यक संशोधन गर्ने प्रक्रियासमेत अघि बढाइएको छ । यसरी सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस) वातावरणीय दृष्टिले समेत उपयोगी हुने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय