काठमाडौं– व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर उकास्ने उद्देश्यमा सहयोग गर्न अमेरिकाबाट सातवटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक पाँचवटा जर्सी र दुईवटा होलिस्टिन जातका साँढे नेपाल ल्याइएको हो ।

विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गत मेट ग्रुपले ल्याएका ती साँढे हाल खुमलटारस्थित पशु क्वारेन्टाइनमा राखिएको छ । ४–५ दिनपछि ती साँढे पोखराको लाम्पाटनमा रहेको राष्ट्रिय प्रजनन केन्द्रमा पठाइने आयोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत डा केशव भट्टले जानकारी दिए ।

नौ महिनादेखि एक वर्षको बयस्क ती साँढेबाट केही वर्षभित्रै नश्ल सुधार भई देशभरि व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

अमेरिकाबाट ल्याइएका साँढेबाट होलिस्टिन, जर्सी र स्थानीय जातका गाईलाई कृत्रिम गर्भाधान गराइसकेपछि त्यहाँ उत्पादन हुने सिमेन किसानलाई निःशुल्क रूपमा वितरण गरिने डा भट्टले जानकारी दिए । अब नेपाली किसानले नश्ल सुधारपछि धेरै फाइदा लिन सक्ने र यसबाट उनीहरूको जीवनस्तरमा निकै सुधार आउने उनको भनाइ छ ।

विदेशबाट पशु ल्याउने सम्बन्धी स्पष्ट व्यवस्था नहुँदा र कोरोना महामारीका कारण झण्डै एक वर्षको प्रयासपछि मात्रै ती साँढे ल्याउन सकिएको मेट ग्रुपका प्रबन्धक निर्देशक सारिन केसीले बताए । उनले भने, ‘सुरुमा अमेरिकाको सिकागोबाट बंगलादेश ल्याउने प्रयास असफल भएपछि कोलकाता र दोहाबाट पनि कोसिस गर्यौं, सम्भव नभएपछि अन्तिममा नयाँ दिल्लीबाट नेपाल वायुसेवा निगमको विमानमार्फत ल्याउन सक्यौं ।’ जिउँदो पशुहरूको हकमा कुनै पनि विमानस्थलमा २४ घन्टाभन्दा बढी राख्न नपाइने प्रावधानका कारण पनि निकै समस्या झेल्नुपरेको उनले बताए ।

सुरुमा १ करोड ३० लाखमा सम्झौता भएकामा ढिलासुस्तीका कारण खर्च बढेर २ करोड पुगेको उनको भनाइ छ । प्रतिसाँढे १८ लाखमा खरिद गरिएकामा पछि लागत बढ्न जाँदा झन्डै २६ लाख पर्न गएको उनको दाबी छ । सम्झौता भएको रकमभन्दा घाटा नै खाएर साँढे नेपाल ल्याउन सफल भएको भन्दै केसीले थपे, ‘यसमा हामीलाई निकै घाटा पर्न गए पनि देशमा व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने आशा गरेका छौं ।’

साँढे ल्याउन सरकारले मेट ग्रुपपसँग सहकार्य गरेको थियो भने ढुवानीमा क्विक फ्रेट लजिस्टिक कम्पनीले सहयोग गरेको थियो । यसअघि सन् १९०७ मा जंगबहादुर राणाले पहिलोपटक बेलायबाट साँढे ल्याएकामा त्यसपछि अहिले सरकारले नै बोलपत्र आह्वान गरी साँढे ल्याएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय