किभ– महामारी, भूकम्प जस्तो विपत्को समयमा सरसामान ओसार्न प्रयोग हुँदै आएको संसारकै सबैभन्दा ठूलो मालबाहक हवाईजहाज अन्तोनोभ एएन–२२५ रसियाले युक्रेनमा गरेको हमलाका क्रममा ध्वस्त भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् ।
म्रिया नामको विशाल हवाईजहाज युक्रेनसँग थियो । युक्रेनी भाषमा म्रियाको अर्थ सपना हुन्छ । उक्त जहाज युक्रेनको राजधानी किभ नजिकैको विमानस्थलमा पार्किङ गरेर राखिएको थियो ।
युक्रेनी अधिकारीहरुले रसियाले ध्वस्त पारे पनि उक्त विमान फेरि बनाउने बताएका छन् । ‘रसियाले हाम्रो म्रिया ध्वस्त पारेको हुन सक्छ । तर उनीहरुले एउटा बलियो, स्वतन्त्र र प्रजातान्त्रिक राज्यको हाम्रो सपना ध्वस्त पार्न सक्दैनन् । हामी रहन्छौं,’ युक्रेनी विदेश मन्त्री डिमेत्रो कुलेबाले ट्विटरमा लेखेका छन् ।
उक्त हवाईजहाज ध्वस्त भएको कुरा स्वतन्त्र रुपमा पुष्टि हुन भने बाँकी छ । अन्तोनोभ कम्पनीको ट्विटमा उक्त हवाईजहाजलाई विज्ञहरुले जाँच नगरेसम्म उसको प्राविधिक अवस्था पुष्टि गर्न नसकिने उल्लेख छ ।
यो जहाज भूकम्प, महामारी जस्ता प्राकृतिक विपत्तिका बेला अत्यावश्यक सरसामान ओसार्न पटकपटक प्रयोग भएको थियो ।
अन्तोनोभको व्यवस्थापन गरिरहेको युक्रेनी सरकारको प्रतिरक्षा कम्पनी युक्रेबोरोन्प्रोमले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त हवाईजहाज ध्वस्त भएको तर रसियाकै खर्चमा पुनः निर्माण गरिने बताएको छ । उक्त जहाज पुनः बनाउन ३ अर्ब अमेरिकी डलर लाग्ने उसले बताएको छ ।
‘उक्त जहाजलाई जस्ताको तस्तै बनाउन ३ अर्ब अमेरिकी डलरभन्दा बढी पाँच वर्षभन्दा बढी समय लाग्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो काम उक्त खर्च रुसी महासंघबाट असुल्नु हो, जसले जानाजान युक्रेनको उड्डयन र हवाई कार्गो क्षेत्रमा क्षति पुर्याएको छ ।
स्याटेलाइट तस्बिरमा उक्त जहाज राखिएको ह्यांगरमा ठूलो क्षति पुगेको देखिएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ ।
८४ मिटर लामो यो जहाजले एक खेपमा २५० मेट्रिक टनसम्म कार्गो ओसार्न सक्छ । यो प्रतिघन्टा ८५० किलेािटरको गतिमा उड्न सक्छ । सोभियत एरोनटिकल प्रोग्रामको एक हिस्साको रुपमा निर्माण गरिएको एएन–२२५ ले सन् १९८८ मा पहिलो उडान भरेको थियो ।
उक्त जहाज सोभियत संघको पालादेखि नै कार्गो सेवामा छ । अन्य मुलुकमा विपत्तिको समयमा कार्गो ओसार्न पनि यो जहाज प्रयोग हुँदै आएको छ । सन् २०१० को हैटी भूकम्पपछि यसले छिमेकी मुलुक डोमिनिक रिपब्लिकसम्म सामान ओसारेको थियो । कोभिड महामारीका बेला प्रभावित ठाउँमा उपचार सामग्री ओसार्न प्रयोग भएको थियो ।










