मस्को– विश्वकै फुटबलको सर्वोच्च संस्था फिफा र युरोपेली फुटबलको सर्वोच्च संस्था युइएफएले रसियाली फुटबल टोलीमाथि अर्को सूचना नआएसम्मका लागि ती संस्थाको आयोजनामा हुने कुनै प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएका छन् ।

ती दुई संस्थाले सोमबार संयुक्त विज्ञप्ति जारी गरी सबै रसियाली टोलीमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका हुन् । रसियाले युक्रेनमाथि सैन्य कारवाही गरेको बदलामा यो प्रतिबन्ध लगाइएको हो ।

‘फिफा र युइएफएले सबै रसियाली टोलीलाई अर्को सूचना जारी नहुन्जेल फिफा र युइएफएको प्रतिस्पर्धामा भाग लिन प्रतिबन्ध लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ । प्रतिबन्ध रसियाको राष्ट्रिय टोली र क्लब टोली दुवैमा लागू हुने बताइएको छ ।

सोमबार ब्युरो अफ फिफा काउन्सिल र युइएफएको एक्जेक्युटिभ कमिटीले उक्त निर्णय गरेको पनि विज्ञप्तिमा प्रस्ट परिएको छ । ती दुवै सम्बन्धित संस्थाका उच्च निकाय हो ।

‘फुटबल पूर्ण रुपमा एकजुट छ र युक्रेनमा प्रभावित जनतासँग उनीहरुको पूर्ण ऐक्यबद्धता छ । दुवै अध्यक्षहरुले युक्रेनको अवस्था चाँडै सुध्रिने र फुटबल चाँडै नै मानिसबीचको एकता र शान्तिलाई सही बाटोमा ल्याउने कारक बन्ने छ,’ विज्ञप्तिमा भनिएको छ ।

अर्को छुट्टै विज्ञप्तिमा युइएफएले रसियाली ऊर्जा कम्पनी गाजप्रोमसँगको साझेदारी अन्त्य गरेको जनाएको छ । यो निर्णय पनि तत्काल लागू हुने बताइएको छ ।

पोल्यान्ड, स्विडेन र चेक रिपब्लिकले रसियाली टोलीसँग आगामी पुरुष विश्वकपको क्वालिफाइङ सेमिफाइनल खेल्न अस्वीकार गरेपछि फिफाले रसियाली टोलीका विषयमा छलफल अघि बढाएको थियो । अवस्था नबिग्रेको भए मार्च २४ र मार्च २९ मा उक्त सेमिफाइनल र फाइनल मस्कोमा हुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय