विदुर– सेनाले बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा ‘एक्रो ब्रिज’ जडान गरिरहेको छ । उक्त पुल जडान गर्न सेनाको इन्जिनियरिङ फौजबाट ५५ जनाको टोली खटिएको छ ।
बाढी प्रभावित क्षेत्रका मैलुङदेखि स्याफ्रूबेसी इलाकासम्म पैदल गस्ती गरी खोज तथा उद्धार जारीलाई जारी राखिएको सेनाले जनाएको छ । सैनिक हेलिकप्टरमार्फत आज प्रभावित इलाकाबाट दुई विदेशीसहित ३९ जनाको उद्धार गरिएको छ । हालसम्म सेनाले हवाई साधनमार्फत २७५ विदेशीसहित तीन हजार ९९७ जनाको उद्धार गरेको छ ।
सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट आज ३१ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । हालसम्म जम्मा तीन हजार २९७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका निर्देशनालयले जनाएको छ ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दाबढी फौज परिचालित गरिएको र उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनसँगै आपतकालीन स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।









