लन्डन– रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए ।

समितिका अनुसार मंगलबारसम्म २ सय ३२ जना पोल्यान्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन् । यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।

बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले रुसमा रहेका नेपालीले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीहरुसँग सम्पर्क गरिरहेको जानकारी दिए ।

उनले एनआरएनएका राष्ट्रिय समितिहरु उद्धार कार्यमा सक्रिय रुपमा लागि परेको जानकारी दिँदै एनआरएनए पोल्यान्डको सक्रियतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको बताए ।

रुसका लागि कार्यबाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी किभमा रहेका सम्पूर्ण नेपालीले युक्रेन छोडेको जानकारी दिए । उनले पछिल्लो समयमा रुसमा रहेका नेपाली विद्यार्थीहरु चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिए । उनले पश्चिमी मुलुकहरुले रुससँगको हवाई उडानमा प्रतिबन्ध लगाएका कारण रुसमा बस्ने नेपालीमा समेत शंसय थपिएको बताए ।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठेरोमा परेका नेपालीलाई खाने–बस्ने व्यवस्था गरेको जानकारी दिए । सुवेदीले युक्रेनमा रहेका नेपालीको संख्या सोचेभन्दा अझ बढी हुन सक्ने बताए ।

समितिका सदस्य सचिव चिरञजीवी खड्काले बैठकमा नेपालको उद्धारको लागि सीमा क्षेत्रमा खटिएको अनुभव सुनाएका थिए । उनले अत्यधिक चिसोका कारणले युद्धपीडित नेपालीहरु थप समस्यामा रहेको जानकारी दिए ।

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीलाई खाना, बस्ने र परिचयपत्र लगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जानकारी दिए । उनले अलपत्र परेर त्यहाँ पुगेका नेपालीले आफ्नो सञ्जाल बनाएर एक अर्कालाई सहयोग गरेको बताए । उहाँले युद्धपीडित नेपालीलाई आर्थिक अभाव रहेको बताए । उनले आफ्नै रेस्टुरेन्ट खालि गरेर १६ जना नेपालीहरु बस्ने र खानाको व्यवस्था गरेको जानकारी दिए ।

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले त्यहाँ पुगेका २३ नेपाली सुरक्षित गन्तव्यतिर लागेको जानकारी दिए । उनले केही नेपालीहरु अन्जानमा हंगेरीको सीमामा पुग्दा अलपत्र परेको समेत बताए ।

बैठकमा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकका अध्यक्ष यदु पन्थी, सुरेन्द्र श्रेष्ठ (हंगेरी), सन्तोष भट्टराई (जर्मनी) सोनाम शेर्पा (स्लोभाकिया), संजय कार्की (हंगेरी), निलम आचार्य (जर्मनी), लगायतले आफ्नो भनाइहरु राखेका थिए ।

बैठकमा युक्रेनको युद्धबाट ४ दिन हिँडेर बाँचेका दाङका बिक्रम खड्काले युद्धमा परेका बेला सामना गरेको कठिनाइ सुनाए । उनले युक्रेनबाट हंगेरी पुग्दा बाटोमा बम पड्केको र ठूल्ठूलो आवाज सुुनेको बताए ।

यसैबीच, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त युद्धपीडितको उद्धारको लागि सोमबारदेखि पोल्यान्डको सीमा क्षेत्रमा आफैं खटिएका छन् भने नेपाली राजदूत रामकाजी खड्का बुधबारदेखि सीमा क्षेत्रमा आफैं खटिएर नेपालीहरुको उद्धार गर्ने तयारीमा लागेको रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय