किभ– युक्रेनमा रुसको सैन्य कारबाही सुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसिआर) ले बिहीबार जनाएको छ ।
आफ्नो ट्विटर ह्यान्डलमा युएनएचसिआर उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन्, ‘केबल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौं ।’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको ८ दिन बितिसकेको छ । उनले युक्रेनबाट अलग्गिएको घोषणा गरेका क्षेत्रहरू– डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछिको तनाव युद्धमा परिणत भएको छ ।
यसैबीच, संयुक्त राष्ट्रसंघको महासभामा बुधबार भएको मतदानमा १४१ राष्ट्रले युक्रेनमा रुसको आक्रमणको निन्दा गरेका छन् भने पाँच राष्ट्रले समर्थन गरेका छन् ।









