मस्को– युक्रेनमा सैन्य कारवाही गरिरहेको रुसले युक्रेनमा रहेका विदेशी नागरिकलाई त्यहाँबाटरुसको बेल्गोरोडसम्म पुर्याउन १३० वटा बसहरु युक्रेनको खार्किभ र सुमी क्षेत्रमा तयारी अवस्थामा राखेको जनाएको छ ।
रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख कर्नेल जनरल मिखाइल मिजिन्त्सेभले विद्यार्थी र अन्य विदेशी नागरिकको बिहीबार बिहानै बेल्गोरोड क्षेत्रको नेखोतेयेभका र सुड्झा चेकपोस्टबाट १३० वटा आरामदायी बस खार्किभ र सुमी जाने तयारीमा रहेको जानकारी दिए ।
चेक प्वाइन्टमा अस्थायी बसोबास र आरामका लागि ठाउँ पनि तोकिएको बताइएको छ । शरणार्थीलाई तातो खाना उपलब्ध गराइने रुसी समाचार एजेन्सी तासले जनाएको छ । त्यहाँ औषधिको भण्डारसहित मोबाइल क्लिनिकहरू पनि स्थापना गरिएको छ ।
‘विस्थापितलाई त्यसपछि बेल्गोरोड सहर पठाइनेछ र त्यसपछि रुसी सैन्य विमानहरू लगायत हवाई मार्गबाट स्वदेश पठाइनेछ,’ जनरल मिजिन्त्सेभले भनेका छन् । रुसले छिमेकी मुलुक युक्रेनमाथि फेब्रुअरी २४ देखि सैन्य हमला गरिरहेको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघले रुसको सैन्य कारबाहीका कारण युक्रेनबाट १० लाख मानिस पलायन भएको जनाएको छ ।









