काठमाडौं– अस्ट्रेलियन क्रिकेट लिजेन्ड सेन वेर्नको निधन भएको छ । ५२ वर्षीय वार्नको शंकास्पद हृदयघातबाट निधन भएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन् ।
वार्नको व्यवस्थापनले एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको अस्ट्रलियाली सञ्चार माध्यम फक्स स्पोर्टसले जनाएको छ ।
‘सेन बसेकै भिल्लामा अचेत भेटिनुभएको थियो र चिकित्साकर्मीको अथक प्रयासका बाबजुद उहाँ ब्युँतिन सक्नुभएन,’ वेर्नको व्यवस्थापनले जारी गरेको संक्षिप्त विज्ञप्तिमा भनिएको छ । थाइल्यान्डको कोह सामुईमा उनको निधन भएको हो ।
अल टाइम लेग–स्पिनर वार्नको परिवारले यतिबेला गोपनीयताको लागि आग्रह गरेको र आवश्यक परेको अवस्थामा थप विवरण उपलब्ध गराउने जनाएको छ ।
अस्ट्रेलियाको क्रिकेट क्षेत्रलाई २४ घन्टा नबित्दै लागेको यो दोस्रो धक्का हो । यसअघि स्थानीय समय अनुसार शुक्रबार अर्का क्रिकेटर रोड मार्सको निधन भएको थियो । उनलाई अघिल्लो साता हृदयघात भएको थियो ।
सेनले १२ घन्टा अगाडि मात्र रोड मार्सको निधनमा दुःख व्यक्त गर्दै ट्विट गरेका थिए ।
प्रेमपूर्वक बोलाइने नाम ‘वार्नी’बाट चिनिने सेनलाई विश्वकै महान बलरका रुपमा हेरिन्छ । १५ वर्षभन्दा लामो अन्तर्राष्ट्रिय करिअरमा उनले ७०८ टेस्ट विकेट लिएका थिए । यो अस्ट्रेलियाली खेलाडीमध्येको सबैभन्दा बढी र संसारभरिको हकमा दोस्रो हो । सेनभन्दा बढी विकेट लिने क्रिकेट खेलाडी श्रीलंकाका मुथैया मुरलीधरन मात्र हुन् ।









