काठमाडौं– नेपाली बजारमा सुनको मूल्य आइतबार तोलाको एक लाखभन्दा माथि पुगेको छ । एकै दिन २ हजार रुपैयाँले भाउ बढेपछि यसको मूल्य तोलाको १ लाख रुपैयाँमाथि पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँ तोकेको हो । तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ तोकिएको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य वृद्धिका पछाडि रुस–युक्रेन द्वन्द्वको हात रहेको बताइएको छ । उक्त द्वन्द्वले अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दा त्यसको असर नेपाली बजारमा परेको महासंघको भनाइ छ ।
यस्तै आइतबार चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ पुगेको छ ।









